काठमाडौं- चार दिनपछि भारतमा साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। र, नेपाली टोली उपाधि जित्ने एकमात्र लक्ष्यसहित शनिबार त्यसतर्फ प्रस्थान गर्दै छ। उपाधिकै लक्ष्य राखेको नेपाली टोलीको त्यो लक्ष्य भने यथार्थभन्दा टाढा देखिन्छ। त्यसको कारण हो, उपाधि लक्ष्य बोकेको टोलीमा अनुभवी खेलाडीसँगै अभ्यासको अभाव।
यो प्रतियोगिता सुरु हुनुभन्दा ठीकअगाडिको यथार्थ हो। तर, यो अहिलेको यथार्थ मात्र पनि होइन। विगतले पनि यही भन्छ। सुरुमा विगतबाटै चर्चा गरौं।
साफ यू–१८ महिला च्याम्पियनसिप फुटबललाई फर्केर हेर्ने हो भने यसको स्वरुप खुम्चिँदै गएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ मा प्रतियोगिता सुरु गर्दा सार्क राष्ट्रका श्रीलंकाबाहेक ६ टोलीले सहभागिता जनाएका थिए।
तर, कोरोना महामारी, सार्कका सदस्य राष्ट्रभित्र जारी द्वन्द्व र महिला फुटबलमा घट्दो लगानीका कारण सन् २०२२ मा आइपुग्दा प्रतियोगितामा नेपाल, भारत र बंगलादेश तीन टोली मात्र बाँकी छन्। जति टोली छन्, साफ पनि त्यसमै चित्त बुझाउँदै छ। सहभागी हुने तीन टोलीलाई समेटेर साफ चाहिँ डबल राउण्ड रोविन प्रणालीअनुसार प्रतियोगिता भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म सञ्चालन गर्न कस्सिएको छ।
प्रतियोगितामा सहभागिता जनाउने टोलीसँगै नेपाली महिला टोलीको उपलब्धि खुम्चिँदै छ। पहिलो संस्करणमा समूह विभाजन गरेर खेलाउँदा उपविजेता बनेको नेपाल दोस्रो संस्करणमा राउण्ड रोविन प्रणालीमा पाँच देशबीच प्रतिस्पर्धा हुँदा तेस्रो स्थानमा पुगेको थियो।
लगातार दुई संस्करणको उपाधि विजेता हो, बंगलादेश। यसपालि नेपालको लक्ष्य भने उपाधि उचाल्नु नै हो। तर, पछिल्लो संस्करणको विजेता बंगलादेश र उपविजेता तथा आयोजक भारतसँग खेल्ने नेपाली टोलीको तयारी भने विजेता बन्नेगरीको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीका लागि फागुन ११ गतेदेखि मात्र बन्द प्रशिक्षण थालेको थियो। दर्शन भक्तराज लवटलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै एन्फाको लागि अर्को चुनौती बन्यो, खेलाडी।
यसै पनि नेपालमा पछिल्लो समय महिला फुटबलका गतिविधि निकै सुस्ताएका छन्। त्यसमाथि कोरोना महामारी र पुरुष फुटबललाई महत्त्व दिएर अघि बढिरहेको एन्फाले उमेर समूहको प्रतियोगितमा पर्याप्त ध्यान दिनसकेको छैन।
एन्फाको महिला फुटबलमा योगदान भनेको गत कात्तिकमा आयोजित उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता नै हो। उक्त प्रतियोगितामा गरेको प्रदर्शनलाई हेरेर ४० खेलाडीलाई एन्फाले प्रारम्भिक टोलीमा बोलाएको थियो।
सो प्रतियोगितामा सिनियर टोलीको सहभागिता रहे पनि त्यसमा खेलेका १८ वर्षमूनिका उत्कृष्ट खेलाडी खोज्नु र बन्द प्रशिक्षणमा बोलाउनु चुनौतीपूर्ण थियो नै।
त्यही प्रतियोगिताको आधार र बन्द प्रशिक्षणमा देखाएको क्षमताकै आधारमा जेनेतन टोली निर्माण गरेको बताउँछिन् यू–१८ महिला टोलीकी सहायक प्रशिक्षक भगवती थापा। ‘धेरैजसो खेलाडी उपमेयर कपबाट छानिएका छन्। त्यसबाहेक जिल्लासँग समन्वय गरेर जिल्लामा राम्रो खेलिरहेका केही खेलाडीलाई राख्यौं,’ उनी भन्छिन्, ‘जति बोलाइएका थिए, उनीहरुले सजिलै सिके। त्यसैले हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो।’
अहिलेको जस्तै नेपाली महिला टोलीको लक्ष्य सन् २०१८ मा पनि फरक थिएन। उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली टोली त्यसबाट एक कदम मात्र टाढा थियो। त्यो लक्ष्य प्राप्त गर्न लागि नेपालले फाइनलमा अपराजित रहेको बंगलादेशसँग प्रतिस्पर्धा गर्नु थियो।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको सेमिफाइनलमा नेपालले चिरिपरिचित प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। जसमा गोलकिपर अन्जना मगरले दुई ‘स्पट किक’ रोकेकी थिइन्। यस्तै, बंगलादेशले भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो।
भारतलाई सेमिफाइनलमा हराएपछि नेपाली टोलीको मनोबल उच्च थियो। पुरुष होस् या महिला, फुटबलमा नेपालमाथि हाबी थियो भारत। तर, पेनाल्टी सुटआउटर्मा भारत पाखा लागेपछि भारत बलियो छ भन्ने मनोवैज्ञानिक डर नेपाली खेलाडीमा हटेको थियो। तर, ‘अति गरे खति हुने’ नेपाली आहान त्यहीँ चरितार्थ भयो।
फाइनल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको भए पहिलो संस्करणको प्रतियोगिताको उपाधि मात्र होइन, समूह चरणमा ब्यहोरेको हारको बदलासमेत लिने थियो।
समूह ‘बी’ मा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो। नेपाललाई त्यो हारको बदला लिने उपयुक्त अवसर थियो फाइनल खेल। तर, फाइनल खेलको दोस्रो हाफमा कमजोर खेल प्रदर्शन गर्दा डिफेन्डर बंगलादेशी मसुरा परभिनले गरेको एकमात्र गोलबाट नेपाल पराजित मात्र भएन, उपाधिबाट बञ्चित पनि भयो।
हुन त बंगलादेश बलियो प्रतिद्वन्द्वी थियो। पहिलो खेलमै पाकिस्तानलाई १७–० ले पराजित गरेको बंगलादेशले प्रतियोगितामा २३ गोल गर्दा १ गोल मात्र खाएको थियो।
तर, नेपालसँग अनुकुलता पनि थियो। त्यो थियो, बंगलादेशी खेलाडीले बोकेको चोट। चोटका कारण सेमिफाइनलमा आयोजक भुटानलाई ४–० ले पराजित गरेपछि फरवार्ड सिरात जहाँ शोपना टोलीमा फर्किए पनि पहिलो हाफमा बंगलादेशले आफ्नो प्राकृतिक खेल खेल्न सकेन।
पासिङमा गल्ती गरिरहँदा र मिडफिल्डबाट आक्रमण बुन्न नसक्दा बंगलादेशमाथि नेपाल हाबी थियो। तर, कमजोर रणनीति र मनोवैज्ञानिक त्रास नेपाली खेलाडीमा हाबी भयो।
यसपालि पनि त्यही नतिजा दोहोरिने आशंकामा छिन्, नेपालको कप्तानी सहाल्ने तयारी गरेकी प्रिती राई। तयारीको लागि पाएको समय र नेपाली टोलीमा अन्तर्राष्ट्रिय एक्स्पोजर पाएका खेलाडीको सहभागिता अत्यन्तै न्यून हुनुले अरु टोलीभन्दा कमजोर महसुस भएको उनी बताउँछिन्।
‘हाम्रो लागि यो प्रतियोगिता महत्त्वपूर्ण छ। तर, तयारी कम हुँदा ठूला प्रतिस्पर्धीसामू नेपाली टोलीलाई चुनौति धेरै छ,’ उनी भन्छिन्।
यू–१८ टोलीबीचको प्रतिस्पर्धालाई नै निरन्तरता दिइँदा नेपाली टोलीमा प्रितीबाहेक अघिल्ला दुई संस्करण खेलेका सिनियर राष्ट्रिय टोलीका खेलाडी अहिले कोही छैनन्।
यसअगाडि भने गत पुस पहिलो साता आयोजित यू–१९ साफ (कोरोना महामारीका कारण यू–१८ लाई नै यु–१९ बनाइएको थियो) को सेमिफाइनलमा पुग्ने नेपाली टोलीमा ६ जना राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी थिए। त्यतिबेला नेपालले बंगलादेशसँग बराबरी खेलको थियो भने भारतसँग पराजित हुँदै उपाधि उचाल्ने लक्ष्यबाट बञ्चित भएको थियो।
यसपल्ट कम अनुभवी र नयाँ खेलाडी भएपनि प्रीतिले बलियो साहस जुटाएकी छन्। उनी बिगतमा बलियो मानिएका टोलीलाई हराएर उपाधि जित्ने लक्ष्यमा रहेको बताउँछिन्।
टोलीका हरेक खेलाडीले यही प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले प्रशिक्षणमा बोलाउनुअघि नै आ–आफ्नो हिसावबाट तयारी गर्दै आएका थिए। खेलाडीले गरेको मिहिनेत र विगत एक महिनादेखि बन्द प्रशिक्षणमा बस्दा भने केही सहज महसुस गरेको प्रीती बताउँछिन्।
‘एक महिना अभ्यास गर्दा टोलीमा देखिएको कमीकमजोरी सुधार भएको छ। त्यसअधि पनि अभ्यास गरिरहेकाले हामीलाई केही असहज छैन,’ उनी भन्छिन्।
हुन त एन्फाले सिनियर टोलीलाई प्राथमिकतामा राख्दै आएको छ। त्यस्तै प्राथमिकता एएफसी महिला एसियन कप छनोट–२०२२ तयारीमा पनि उसले दिएको थियो। त्यसबेला नेपाली महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलमध्ये एउटा २–१ ले जितेको थियो भने एउटा गोलरहित बराबरी खेलेको थियो। गत असोजमा मैत्रीपूर्ण यो खेल खेल्दा झण्डै चार दशकदेखि फुटबल खेल्दै आएको नेपाली महिला टोली पहिलोपटक दशरथ रंगशालामा उत्रिएको थियो।
तर, नेपाली महिला टोली एएफसी महिला एसियन कप छनोट–२०२२ प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि त्यसयता महिला फुटबल फुटबल सुस्ताएको छ। त्यही सुस्ताएको फुटबलको मारमा यू– १८ महिला टोली परेको छ।
उनीहरुले मैत्रीपूर्ण खेल खेल्नु त परै जाओस्, सिनियर टोलीसँग पनि अभ्यास गर्न पाएनन्। सिनियर टोलीसँग अभ्यास मात्रै गर्न पाएको भए केही मात्रामा भएपनि फक्रँदै गरेको यू–१८ फुटबल टोलीका खेलाडीले सिक्ने मौका पाउँथे। तर, एन्फा त्यसमा अग्रसर भएन। नियमित अभ्यासमै सिमित रह्यो।
सिक्दै गरेका खेलाडीलाई एक महिने अभ्यास आफैमा निकै हो। खेलाडीलाई एक अर्काको खेल्ने शैली बुझ्न नै एक महिनाभन्दा बढी समय लाग्छ। तर, एन्फाले देखाएको उदासीनताका बाबजुद आफूहरुले गर्नुपर्ने कसरत केही बाँकी नराखेको प्रीति बताउँछिन्।
‘हामीले प्रतिस्पर्धा गर्ने टोली हामीभन्दा निकै बलिया छन्। त्यहीअनुसार हामीले तयारी गरेका छौं। नियमित अभ्यास गरिरहेकै कारण फिटनेसमा पनि कुनै समस्या छैन,’ उनले भनिन्।
तर, नेपाली टोलीको समस्या भनेको फिटनेस मात्र होइन, खेल्ने शैली पनि हो। नेपाल टोलीले बिगतमा बलिया भनिएका टोलीविरुद्ध मैदानमा उत्रिँदा रक्षात्मक रणनीति अपनाउँदै आएको छ। जुन रणनीति केही हदसम्म सन्तोषजनक देखिन्छ। तर, फुटबलको विकाससँगै खेलाडी र टोलीको रणनीति पनि परिवर्तन हुँदै जान्छ, जानुपर्छ।
अहिले अधिकांश टोली आक्रामक खेल खेल्न रुचाउँछन्। तर, नेपाली टोली भने पूरानो रक्षात्मक रणनीतिलाई नै अबलम्बन गरिरहेको छ। यसले खेल जितेपनि आफ्नो लक्ष्यमा भने पुग्न नसकिने प्रीतिको अनुभव छ।
‘बिगतमा को बलियो या को कमजोर थियो भन्ने कुरा बिर्सनुपर्छ। बिगतका विपक्षीको स्तर पनि बिर्सनुपर्छ। अहिले आक्रामक र आत्मविश्वासी प्रर्दशन गर्न सके सकारात्मक नतिजा निकाल्न सकिन्छ,’ उनी भन्छिन्।
शनिबार भारत प्रस्थान गर्ने नेपाली टोलीले उद्घाटन खेलमा आयोजक भारतसँग चैत १ गते खेल्नेछ। नेपालले दोस्रो खेल चैत ३ मा बंगलादेशसँग खेल्नेछ। यस्तै चैत ७ मा फेरि भारतसँग र चैत ९ मा बंगलादेशसँग खेल्नेछ। एकापसमा दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोली
प्रिती राई (कप्तान), सावित्री किशन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।