काठमाडौं– निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि संसद् बैठकमा छलफल अघि बढ्ने भएको छ।
संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूची अनुसार आइतबार (फागुन २९) गते बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन्।
राणाविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए।
प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी छ। आफैं कार्यविधि बनाएर र प्रतिनिधि सभाको नियमावली अनुसार राणाविरुद्धको महाभियोगमाथि समितिले काम सुरु गरेको तीन महिनाभित्र छानबिन प्रतिवेदन दिनुपर्ने छ।
उक्त समितिको प्रतिवेदन पुन: प्रतिनिधि सभामा पेस भएर छलफल हुने छ। छलफलपछि संशोधन आवश्यक नभएमा पारित गर्ने अंकगणितमा प्रवेश गर्ने छ।
प्रतिनिधि सभाका दुई तिहाइ बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा उनी पदमुक्त हुनेछन्। प्रस्ताव पारित हुन सकेन भने उनी फेरि सर्वोच्च फर्कने छन्। त्यसो हुँदा राणाले आगामी मंसिरसम्म सर्वोच्चको नेतृत्व गर्न पाउनेछन्।
आइतबार बस्ने बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।