काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराउँदै आगामी रणनीतिबारे छलफल गर्न दलहरुलाई बोलाएको हो।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज (शुक्रबार) बिहान ११ः३० बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो,’ उनले भने।
आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।