काठमाडौं– वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ। बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो।
फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताकासहितको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ। तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए ।
वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ। वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ। आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।
होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्न सुरु गरिएको पौराणिक मान्यता छ। पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा लगेर दाह गरेपछि होली पर्व समाप्त हुन्छ। यसको भोलिपल्टबाटै वसन्त ऋतु प्रारम्भ हुने बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।