काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा हरियो रंगको चिह्न बनाउने काम नेपाली कांग्रेसको पक्षमा रहेको भनि गरेको टिप्पणीमाथि कांग्रेसले खण्डन गरेको छ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले निर्वाचनको मतपत्र बनाउने कुरा निर्वाचन आयोगको भएकाले यो कुनै पार्टीको पक्ष वा विपक्षमा भन्न नमिल्ने बताए। पत्रकारले सोधेको प्रश्नमा महामनत्री विश्वप्रकाश शर्मा र प्रवक्ता महतले जवाफ दिएका थिए।
‘हरियो रङमा आपत्ति गर्ने हो भने यत्रो ४० प्रतिशत वन नै फाड्नुपर्ने होला’ महतले भने ‘शायद नेपाली कांग्रेसको प्रभाव बढिरहेको महशुस एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको होला।’
महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीलाई हरियो चुनाव चिह्न बारे जवाफ दिएका थिए।
'साउनमा के भएको सधैं हरियो देख्छ भने झैं' भएको भन्दै शर्माले यस्ता टिप्पणीको अर्थ नहुने बताए। उनले निर्वाचनमा यही कुरा बुझाउन स्थानीय तहसम्म जान लागेको दाबी गरे। उनले यस्तो टिप्पणी आउनु भनेको नेपाली कांग्रेस एकजुट भएर अघि बढेको र कम्युनिष्टहरु विभाजन भएको मानसिकता भएको टिप्पणी गरे।
एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले आँखा कमजोर हुनेले रुखैरुख देखुन् भनाएर मतपत्रमा हरियो चिह्न बनाउन लागिएको हो भन्दै प्रश्न गरेका थिए।
अध्यक्ष ओलीले आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताएका थिए। उनले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए आयोगले त्रुटि सच्याउन आवश्यक रहेको बताएका थिए।
तर निर्वाचन आयोगले पनि उक्त कुराको खण्डन गरिसकेको छ। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।