काठमाडौं– स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड एसएससीटी, राष्ट्रिय सहकारी र ग्लोबल आइएमई बैंकबीच सहकारीलाई ‘कोप कार्ड’ जारी गर्ने सम्झौता भएको छ।
सहकारीहरुको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’ जारी गर्नका लागि एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सहकार्य गर्ने त्रिपक्षिय सम्झौता भएको हो।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनअनुरुप एससीटीले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटिएम कार्ड, स्मार्ट यूआर र मोबाइल बैंकिंङमार्फत् आफ्नो सेवा दिँदै आएको छ ।
अहिलेसम्म बैंक तथा वित्तिय संस्थाहरुलाई मात्र सुविधा पुऱ्याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोवारलाई समेत मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्नसक्ने प्रविधि र प्रक्रिया मिलाइएको छ।
यसका लागि एससीटीले चाइना युनियन पे (यूपिआई)सँग सहकार्य गर्दै आएको छ र विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेको छ। तर, यसलाई अझ प्रभावकारी बनाउन र सबै सदस्यलाई सेवा पुऱ्याउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्ने लागिएको हो ।
यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका र एटिएम र पिओस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ। यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत् सहकारीहरुले जारी गर्नेछन्।
यस सहकार्यपश्चात् सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी ‘कोप कार्ड’ जारी गर्न सक्नेछन्।
सहकारीहरुले सदस्यहरुलाई ‘कोप कार्ड’ को वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएममार्फत् रकम निकाल्न सक्नेछन् भने पिओसको माध्यमबाट कुनैपनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।