काठमाडौं– कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको छ।
बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जना गरी ६ जना न्यायाधीशको नाम सरकारलाई सिफारिस गरेको हो।
विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ।
यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको छ।
गत साउनयता विशेष अदालत २ जना न्यायाधीशको भरमा मात्रै चल्दै आएको छ। गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो। नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको थियो।
यो आदेश भएको भोलिपल्टै बसेको न्याय परिषद्को बैठकले विशेषका अध्यक्ष कार्की तथा सदस्य (न्यायाधीश)हरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा गरेको थियो। एकैपटक अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएपछि विशेष अदालतमा २ जना न्यायाधीश मात्रै छन्। अध्यक्ष छैनन्।
परिषद्को बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवम् अध्यक्ष पदमा हाल उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीश टेक प्रसाद ढुंगानालाई तोक्न सिफारिस गरेको छ।
बैठकले उच्च अदालत सुर्खेतका २ जना न्यायाधीशको काज सरुवा गर्ने निर्णय समेत गरेको छ। उच्च अदालत सुर्खेतका न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटनको हेटौंडा इजलास र नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा काज सरुवा गर्ने निर्णय भएको परिषद् सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।