काठमाडौं- बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ। उनलाई ६० लाख जरिवाना पनि लगाइएको छ। यादवका वकिलले उक्त आदेशविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन्।
झारखण्डको चारा र पशुपालन घोटालाको यो अन्तिम र पाँचौं मुद्दा थियो, फेब्रुअरी १५ मा अदालतले यादवलाई यस मुद्दामा दोषी ठहर गरिएको थियो।
२०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएदेखि यादवले ८ महिना जेल र ३१ महिना अस्पतालमा बिताएका छन्। आठ महिनादेखि बिरसा मुण्डा राँचीको होटवार जेलमा छन्। उनी अहिले धरौटीमा छुटेका छन्।
टाइम्स अफ इन्डियाकासँग लालु यादवका वकिल प्रभात कुमारले भने, ‘लालु यादवलाई अगस्ट ३०, २०१८ मा राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स), राँचीमा सारिएको थियो र फेब्रुअरी १३, २०२१ सम्म बसेका थिए। पछि उनलाई दिल्लीको एम्समा सारिएको थियो।’
यादव गत वर्ष अप्रिलमा एम्सबाट डिस्चार्ज भए। त्यसपछि उनले जमानत पाएका थिए। गत फेब्रुअरी १५ मा चारा घोटाला मुद्दामा दोषी ठहर भएपछि जेल प्रशासनबाट उनले रिम्समा भर्ना हुन अनुमति पाएका थिए।
९० को दशकको चर्चित करोडौंको पशुपालन घोटालामा सीबीआईले त्यतिबेला ६६ वटा मुद्दा दर्ता गरेको थियो। तीमध्ये ६ वटा मुद्दामा बिहारका तत्कालीन मुख्यमन्त्री यादवलाई पनि आरोपी बनाइएको थियो। बिहारको विभाजन पछि, यी मध्ये पाँच केस झारखण्डमा सारिएको थियो।
यी पाँचमध्ये चारवटा मुद्दामा यादव यसअघि नै दोषी ठहर भइसकेका छन्। तर, यी मुद्दामा उनले जमानत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।