काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ।
आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ।
आइतबार प्रतिनिधिसभामा एमसीसी टेबलभएको थियो। एमसीसी संसदमा टेबल भएसँगै सोमबार लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएको देखिन्छ। यसरी सोमबार नेप्से परिसूचक २५.४१ अंक बढेर २ हजार ७१८.५१ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स १.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ९२ हजार कित्ता शेयर २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबै भन्दाबढी २.२४ प्रतिशत बढेको छ। त्यस्तै वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढी बढेको छ।
सोमबारको कारोबारमा १० कम्पनीहरु शेयर मूल्य सकारात्मक सर्किट लागेको छ। यसरी बढेको १० कम्पनीहरुमध्ये ७ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन्।
जसमध्ये युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशत बढेको छ। सोमबार कारोबार रकमका आधारमा २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।