काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ३८.३० गुणा बढी आवेदन परेको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
कम्पनीको सेयरमा कुल २६ लाखभन्दा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार आइतबार साँझ साढे ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको हो।
लघुवित्तले फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (फागुन ८ गते) अन्तिम दिन थियो।
लघुवित्तले निष्कासन गरेको कुल ८ लाख ५० हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हाल १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात २६ करोड पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।