काठमान्डौं- भारतीय फेसन ब्रान्ड सब्यासाचीले डिजाइन गरेको मंगलसुत्रको विज्ञापन केही महिनाअघि सार्वजनिक भयो। उक्त विज्ञापनमा मंगलसुत्र लगाएकी महिलाले ब्रा लगाएकी छिन् र पुरुषको छातीमा आफ्नो टाउको अड्याएकी छिन्। पुरुषले शरीरको माथिल्लो भागमा कुनै पनि कपडा लगाएको छैन।
हिन्दू परम्पराअनुसार विवाहित महिलाले मंगलसुत्र लगाउँछन्। तर, मंगलसुत्रको प्रचारका लागि महिलालाई ‘कामुक’ रूपमा प्रस्तुत गरिएको र हिन्दूको धार्मिक आश्था विपरीत भएको भन्दै विरोध भयो। विज्ञापन विवादमा परेपछि सब्यासाचीका मालिक सब्यासाची मुखर्जीले उक्त विज्ञापन ‘क्याम्पेन’ रोके।
तर, यस्ता खालका थुप्रै विज्ञापन छन्, जसले आफनो उत्पादन बिकाउन महिलालाई कामुक रूपमा प्रयोग गरिन्छ। अर्थात् महिलालाई ‘प्रदर्शन’ गरिन्छ।
अचेल खेल प्रतियोगितामा पनि महिलालाई ‘प्रदर्शन’ गर्न थालिएको छ। विश्वकप क्रिकेट होस् वा इन्डियन प्रिमियर लिग (आईपीएल) अथवा अन्य देशका लिगहरू, बिकिनी लगाएका ‘चियर्स गर्ल्स’ पनि प्रशस्तै देख्न सकिन्छ। ‘प्रतियोगीलाई हौसला दिनका लागी’ उनीहरूलाई प्रयोग गरिएको स्पष्टीकरण पनि सुनिन्छ।
कोकाकोलाले पनि आफ्नो पेय पदार्थ प्रवर्द्धनका लागि बनाएको विज्ञापनमा महिलालाई द्विअर्थी रूपमा प्रयोग गरेको छ। एउटा सुपर स्टोर काम गर्ने महिला ‘बिलिङ’ कक्षमा केही लेखिरहेकी हुन्छन्। त्यति बेलै आइपुगेका एक पुरुष कोकाकोला माग्छन्। ती महिलाले आफैँ लिन आग्रह गर्छिन्। पुरुषले कोकाकोला लिएर पिएको महिला सीसीटीभी क्यामराबाट हेर्छिन्। पुरुष जति कोक पिउँदै जान्छन्, महिला उति सन्तुष्ट भएको दृश्यमा देखाइन्छ।
नेपाली विज्ञापनमा पनि यस्ता दृश्य प्रशस्त देख्न सकिन्छ। लिरिल साबुनको विज्ञापनमा महिला कलाकारलाई बिकिनीमा देखाइएको छ। प्रायः साबुन, स्याम्पु, सर्फजस्ता प्रसाधनका सामग्रीमा महिलालाई कामदारका रुपमा देखाइन्छ, जहाँ पुरुष र बालबालिकाले फोहोर गर्छन्।
ट्राफिक एफएममा बिहानै प्रायः बिहान एउटा विज्ञापन सुन्न सकिन्छ, जसमा गाडी चलाइरहेका पुरुषलाई उनकी श्रीमती बिस्तारै हाँक्न भन्छिन्। उनले भनेकी हुन्छिन्, ‘गाडी बिस्तारै चलाइस्यो।’
तर, श्रीमान झर्केर बोल्छन्, ‘अफिस जान ढिला भयो, थाहा छैन तलाईं?’
यहाँ पुरुष र महिलाले प्रयोग गर्ने भाषामा विभेद प्रष्ट सुनिन्छ। सम्मानपूर्वक बोलिरहेकी श्रीमतीप्रति श्रीमानको भाषा अपमानजनक सुनिन्छ।
के भन्छन् अधिकारकर्मी तथा सरोकारवाला?
लेखक तथा सामाजिक अभियन्ता सरिता तिवारी पितृसत्ताले धानेको पुजीवादका कारण महिलाको शरीरलाई ‘वस्तुकरण’ गरिएको बताउँछिन्। ‘पितृसत्ता परम्परावादी मात्र नभएर पुजीवादी नाफातन्त्रको बजारमा यो आधुनिक पनि हुन्छ। आफनो वस्तु बिकाउन महिलालाई राम्री या ग्लामर देखाउँछ,’ उनी भन्छिन्।
बजारको उपभोक्ता प्रायः पुरुष हुन्छ। पुरुषलाई लोभ्याउन पितृसत्ताले महिलालाई वस्तुकरण गर्ने उनको भनाइ छ। कतिपय कलाकार भने अपवाद पनि छन्। भारतीय अभिनेत्री कंगना रनावत विज्ञापन खेल्दिनन्। तर, नेपालमा भने चलेका र लोकप्रिय ठहरिएका कलाकार नै विज्ञापनका लाग मरिहत्ते गर्छन्। चर्चित लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विज्ञापनका लागि ‘हरिमत्ते’ गर्छन्।
घरेलु सामग्रीका विज्ञापनमा महिलालाई मात्र प्रयोग गरिन्छ। तर, चुरोटको विज्ञापनमा ‘साहसीको चाहना’ भन्दै पुरुषलाई देखाइन्छ। वियरको विज्ञापनमा बाइक ‘स्टन्ट’ गर्दै गरेको पुरुषलाई नै देखाइन्छ। ‘पुरुषलाई हिम्मतिलो र साहसी देखाउन विज्ञापनमा यस्ता दृश्य राखिन्छ। यो सबै पितृसत्तात्मक पुजीवादी चरित्र हो,’ तिवारीले भनिन्।
राजनितिक अभियन्ता धनकुमारी सुनार पनि कुनै उत्पादन बिकाउन महिलालाई वस्तुकरण गरिएको बताउँछिन्। ‘विज्ञापन कम्पनीहरू महिलालाई वस्तु वा साधनका रूपमा प्रयोग गर्छन्। पुरुषले उपभोग गर्ने वस्तुमा महिलालाई प्रयोग गर्नु भनेकै महिलालाई वस्तुको रूपमा प्रस्तुत गर्नु हो,’ उनी भन्छिन्, ‘महिलालाई अर्धनग्न बनाउनुको पछाडिको कारण पुरुषवादी सोच नै हो। यस्ता विज्ञापनले महिला हिंसालाई झनै स्थापित गरेको छ।’
निर्देशक दिपेन्द्र लामा भने महिला पुरुष दुवैको सौन्दर्यलाई सदुपयोग गर्नु राम्रो भएको बताउँछन्। तर, विज्ञापनमा भने नियतबस नै महिला कलाकारलाई ग्लामर देखाइने उनी बताउँछन्। ‘तर, कुनै पनि कलाकारलाई कुनै विज्ञापन खेल्न जबर्जस्ती गरिँदैन। आफूलाई मन नपरेको वा वस्तुको रुपमा प्रयोग गरिएको विज्ञापनमा खेल्न महिला कलाकार स्वयंले अस्वीकार गर्नुपर्छ,’ उनी भन्छन्।
विज्ञापन खिचिने स्थान, दृश्य, भेषभुषाबारे पहिला नै जानकारी दिइएको हुनाले कलाकारलाई आपत्ति लागे अस्वीकार गर्न सकिने उनको भनाइ छ। तर, कतिपयले पैसा र अवसरका लागि जुनसुकै विज्ञापनमा खेल्न मञ्जुर हुने गरेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।