काठमाडौं– विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ।
उच्च अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोग २०७४ को दफा ९ बमोजिम मन्त्रिपरिषद्ले पुस ८ गते आयोगको अध्यक्ष र सदस्यको कार्यक्षमताका कारण आयोगको काम, कर्तव्य, अधिकार र जिम्मेवारी वहन गर्न नसकेको विषयमा छानबिनका लागि समिति गठन गरेको थियो।
समितिको सदस्यमा पूर्वसहसचिव विष्णुबहादुर थापा र पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर आशिष घिमिरे थिए। समितिले आइतबार प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझाउँदै गजुरेलले प्राप्त प्रमाणका आधारमा कानुनअनुसार प्रतिवेदन तयार गरिएकाले सरकारले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे। त्यसअवसरमा मन्त्री भुसालले सरकारले दिएको जिम्मेवारी पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै समितिको सुझावलाई कार्यान्वयनमा लगिने विश्वास दिलाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।