काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाले शपथ लिएका छन्। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले हमाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
त्यसक्रममा उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न हमाललाई आग्रह गरे। ‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। तपाईंले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ।’
मन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यावहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए।
नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै उनले निरन्तर सहयोग गर्न आग्रह समेत गरे।
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले हमाललाई नियुक्त गरिएको हो।
हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राविधिकरणमा ९ वर्ष काम गरेका थिए। त्यस्तै उनीसँग विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।