काठमाडौं- रुसले युक्रेनमा आक्रमण गर्न बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ।
बिहीबार अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन्। तर, यो समस्या र गतिरोधको कूटनीतिक समाधान अझै सम्भव रहेको पनि उनको जिकीर छ।
अमेरिकी विदेश नीति अधिकारीहरूले सम्भावित कारणहरू सूचीबद्ध गरेका छन्, जुन रूसले युक्रेनमा आक्रमण गर्न सक्छ र यसलाई जायज ठहराउन सक्छ।
अर्कोतर्फ रुसले अमेरिकामाथि उक्साउने र तनाव बढाएको बारम्बार आरोप लगाउँदै आएको छ। रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको बताएको छ।
रुसले युक्रेनसँगको सीमामा तैनाथ आफ्ना सेना एक लाखभन्दा बढी घटाएको दाबी गरेको थियो। यद्यपि, अमेरिका र नेटोका महासचिवले रुसले भनेका कुराको कुनै संकेत अहिलेसम्म नआएको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति वाइडेनले सञ्चारकर्मीहरुसँग भने,‘उनीहरूले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेका छन्। हामीसँग विश्वास गर्ने धेरै कारणहरू छन्।’
युक्रेन र रुस सीमानाबाट रुसी सेना फिर्ता भइसकेको खबरका बीचमा एकजना वरिष्ठ अमेरिकी अधिकारीले रुसले अझै पनि यस क्षेत्रमा आफ्नो सेना पठाइरहेको दाबी गरेका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ती अधिकारीले विगतका केही दिनमा सीमामा करिब ७ हजार रुसी सैनिक तैनाथ गरिएको बताए।
‘रुसले जुनसुकै बेला युक्रेनमा प्रवेश गर्न झुटो बहाना बनाउन सक्छ। यो बहाना डोनबासमा उत्तेजकता, भूमि, हवाई, समुद्रमा नाटो गतिविधि वा रूसी क्षेत्रमा आक्रमणको दाबी आदिको रूपमा हुन सक्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।