काठमाडौं– राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकार भट्टले स्पष्ट पारेका छन्।
तरलता व्यवस्थापनका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकुल बैंकहरुले ब्याजदर निर्धारण गर्ने गरेको उनले बताए। राष्ट्र बैंकले बैंकहरुलाई ब्याज निर्धारण गर्नको लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ। बैंकहरुमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको उनको भनाइ थियो।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा ब्याजदर घट्ने र अभाव हुँदा ब्याजदर बढ्ने उनले बताए। ‘नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउनका लागि पछिल्लो समय कुनै निर्देशन दिएको छैन। बजारले तरलता व्यवस्थापनको लागि वित्तीय साधन व्यवस्थापनको लागि आफू अनकुल बैंकहरुले ब्याजदर निर्धारण गर्ने हो,’ उनले भने, ‘अहिले ब्याजदर निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्ररुपमा छाडेको विषय हो। बैंकहरुलाई निक्षेप तथा कर्जाको ब्याजदर बढाउन राष्ट्र बैंकले कुनै निर्देशन दिएको छैन।’
प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए। मौद्रिक नीतिको अर्थवार्षिक समिक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायित्वमा जोड दिएको उनले बताए।
पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको प्रवक्ता डा.भट्टले बताए। चालु आर्थिक वर्षको सुरुदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।