प्रतिनिधि सभामा एमालेको अवरोध। फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभा प्रतिनिधि सभाजस्तो नभएको बताएको छ। हालै सार्वजनिक भएको उसको दोस्रो अन्तरपार्टी निर्देशनमा उसले विभिन्न संस्थाहरु ती संस्थाहरुजस्तो नभएको बताएको हो।
'परमादेशबाट सरकार गठन गर्ने सर्वोच्चको गलत फैसलाका कारणले यतिबेला सरकार सरकारजस्तो छैन। प्रतिनिधि सभा प्रतिनिधि सभाजस्तो छैन। अदालत अदालतजस्तो छैन। जनादेशलाई खण्डित गरेर गलत बाटोबाट मुलुकको राजनीतिलाई अगाडि बढाउन खोज्दा यतिबेला राज्य व्यवस्थाका तीनवटै महत्त्वपूर्ण अंगहरुले जनताको विश्वास गुमाउँदै गएको अवसथा छ', अपानिमा भनिएको छ।
गत भदौ २८ गते सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनभर र मंसिर २८ गतेदेखि सुरु भएको दशौं अधिवेशनका सबै बैठक एमालेले अवरोध गर्दै आएको छ।
बुधबार बसेको बैठकसम्म गणना गर्दा प्रतिनिधि सभाले ११६ दिनसम्म एमालेको अवरोध झेलिरहेको छ। राष्ट्रिय सभामा पनि उसले विरोध गरिरहेको छ। एमालेबाटै निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारले नै दुई पटक प्रतिनिधि सभा विघटन गरेको थियो। दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधि सभालाई ब्युँत्याइदिएको थियो।

पाँच दलीय गठबन्धनको नेतृत्वमा रहेको संघीय सरकार र प्रदेश सरकार यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै कमजोर बनाउने गरी जनविरोधी र राष्ट्रविरोधी गतिविधिमा उद्धत रहेको एमालेको ठहर छ।
'मुलुकको समग्र आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको छ। राजनीतिक भविष्य गुमाएका गठबन्धनका मन्त्रीहरु खुलेआम भ्रष्टचारमा लिप्त छन्। सुशासन कायम गर्ने भूमिकामा रहेकाहरु नै नीतिगत भ्रष्टाचारमा संलग्न देखिँदैछन्', अपानिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।