काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सीमाबाट रुसी सेना फिर्ता भएको नदेखेको बताएका छन्।
पश्चिमी युक्रेनको सैन्य तालिम केन्द्रमा बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले उक्त कुरा बताएका हुन्। ‘इमानदारीपूर्वक भन्नुपर्दा हामी हाम्रो अगाडिको अवस्था हेरेर प्रतिक्रिया दिनेछौं। तर, हामीले अहिलेसम्म कुनै प्रकारको फिर्ती देख्दैनौं। हामीले यसको बारेमा मात्र सुनेका छौं,’ उनले भने।
उनले रुसी आक्रमणको चेतावनीलाई ध्यानमा राख्दै मा संयम अपनाइरहेको पनि बताएका छन्। ‘जहाँसम्म धम्कीको सवाल छ, मैले धेरै पटक भनेको छु- हामी कुनै पनि प्रकारको खतरामा संयम अपनाइरहेका छौं। यो सबै हिजो सुरु भएको थिएन। विगत केही वर्षदेखि यो चलिरहेको छ,’ उनले भने।
युक्रेन र रुसबीच विगत केही सातादेखि तनाव जारी छ। रुसले लामो समयदेखि युक्रेनको सीमानजिक आफ्ना धेरै सेना तैनाथ गरेको छ। तर, यी मध्ये केही सेना फिर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यता, अमेरिकादेखि अन्य पश्चिमी देशहरूले यसलाई युक्रेनमा रुसको आक्रमणको तयारीका रूपमा हेरिरहेका छन्। तर, रुसले यसलाई अस्वीकार गर्दै आइरहेको छ र आफ्नो देशको सिमानाका जुनसुकै स्थानमा सेना तैनाथ गर्न पाउने जिकीर गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।