काठमाडौं- युक्रेन र रुसबीच जारी तनावका बीच कीभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका भारतीय नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ।
दूतावासले आफ्नो ट्वीटर एकाउन्टमार्फत् उक्त आग्रह गरेको हो। दूतावासले भनेको छ,‘संयम राख्नु जरुरी छ र आत्तिनु हुँदैन। भारत फर्कन चाहनेहरूका लागि उपलब्ध व्यावसायिक उडानको टिकट लिनुपर्छ।’ यस्तै, दूतावासले आफ्ना नागरिकको उद्दारका लागि उडान थप गर्ने जानकारीसमेत दिएको छ।
‘भारत र युक्रेनबीचको हवाई सेवा बढाउन भारतीय विदेश मन्त्रालय नागरिक उड्डयन मन्त्रालय र सबै एयरलाइन्ससँग सम्पर्कमा छ,’ दूतावासले भनेको छ।
हाल दिल्ली र युक्रेनबीच उडान (युक्रेन इन्टरनेशनल एयरलाइन्स) उपलब्ध छ। यसबाहेक शारजाह, दुबई, अल्माटी, फ्र्याङ्कफर्ट र दोहाबाट पनि कनेक्टिङ उडानहरू उपलब्ध छन्।
युक्रेन र रुसबीच विगत केही सातादेखि तनाव जारी छ। रुसले लामो समयदेखि युक्रेनको सीमानजिक आफ्ना धेरै सेना तैनाथ गरेको छ। तर, यी मध्ये केही सेना फिर्ता गरेको छ।
यता, अमेरिकादेखि अन्य पश्चिमी देशहरूले यसलाई युक्रेनमा रुसको आक्रमणको तयारीका रूपमा हेरिरहेका छन्। तर, रुसले यसलाई अस्वीकार गर्दै आइरहेको छ र आफ्नो देशको सिमानाका जुनसुकै स्थानमा सेना तैनाथ गर्न पाउने जिकीर गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।