काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना 'अझै उच्च रहेको' भन्दै त्यसो भएमा निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन्।
वाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताए। तर रुसले भने आफ्ना सैनिकहरु फर्कन थालेको घोषणा गरेको छ। वाइडेनले भने युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए।
रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले भने, "रुसी फौज फर्कनु राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौँ।
रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू 'आफ्ना शत्रु नभएको' बताए। तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो। पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो।
पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई सधै अस्वीकार गरेका छन्। तर त्यस क्षेत्रमा नोभेम्बर महिनायता तनाव बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।