काठमाडौं- फेब्रुअरीको अन्त्यदेखि बंगलादेशका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको छ।
प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसको महामारी कम हुँदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएकी हुन्।
भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन्।
देशभरी खोप लगाएका विद्यार्थीहरूको संख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको पनि उनले जानकारी दिए।
‘अब अवस्था परिवर्तन र सुधार भएको छ भन्ने हामीलाई लागेको छ, त्यसैले अब विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भनिन्।
बंगलादेश सरकारले पछिल्लो पटक यही फेब्रुअरी ३ देखि २० सम्मका लागि विद्यालय बन्द गर्ने समयावधि थप गरेको छ। पछिल्लो पटक थपिएको समयावधि सकिन एक हप्ता बाँकी हुँदा प्रधानमन्त्री हसिनाले अब भने म्याद नथप्ने संकेत गरेकी छन्।
कोरोना भाइरसको महामारीका कारण सन् २०२० को मार्चदेखि अहिलेसम्म बंगलादेशमा १९ लाख नौ हजार ६६४ जना संक्रमित भएका छन्। पछिल्लो समय दैनिक औसतमा चार हजार नयाँ संक्रमित थपिने गरेका छन्।
त्यसैगरी कोरोनाका कारण कूल २८ हजार ८१९ जनाको मृत्यु भएको पनि बंगलादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।