काठमाडौं- संगीतकर्मी राजनराज शिवाकोटीले 'मायाले ज्यान खायो' भन्ने गीतमा सुदूरपश्चिमको भाषा प्रयोगमा त्रुटी भएको स्वीकार गरेका छन्। आफूले जानीबुझी नभइ अन्जानमा गल्ती भएकाले सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले केहीसँग कुराकानी गर्दा 'त्यत्तिको चल्ने' भनेकाले आफूले उक्त शब्द प्रयोग गरेको बताएका थिए। उनले भने, 'देउडा गीत मनपर्ने भएकाले त्यसको प्रयोग गर्न खोजेको हुँ। जानेर बिगार्न खोजेको होइन। अशुद्ध भाषा प्रयोग भएको ठाउँमा सच्याउन तयार छु।'
शिवाकोटीको केही समयअघि सार्वजनिक 'मायाले मेरो यो ज्यान खायो' गीतमा 'देउडा' भनेर अर्कै गीत तथा त्यहाँको अशुद्ध भाषा प्रयोग गरिएको थियो।
जसलाई लिएरनेपाल लाइभले 'जहाँ मायाले ज्यान होइन, शिवाकोटीले खाए देउडाको सातो' शीर्षकमा समाचार प्रकाशित गरेका थियो। सुदूरपश्चिमका भाषा तथा संस्कृतिप्रेमीहरुले समेत शिवाकोटीको उक्त कामको विरोध जनाएका थिए।
उनले युट्युबमा गीतको विवरणमा समेत सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। जहाँ लेखेका छन्:
सम्पूर्ण दर्शक स्रोताहरुमा यो गीतको शब्दको अर्थको विषयमा आएका प्रतिक्रिया सल्लाह र सुझावहरुलाई मध्यनजर गर्दै यस गीतको शब्दको भाषामा केही अशुद्धता हुन गएको जानकारीमा आएकाले यस बारे दु:ख प्रकट गर्दै आगामी दिनमा स्थानीय साथीहरुसँग बसेर सोधपुछ गर्नुपर्ने बुझेको छु। सुदूरको भाषालाई अन्य नेपाली जगतमा प्रचार गर्ने चाहनाअनुसार सुदूरको भाषा प्रयोग गर्दा अर्को भेगकाले पूरा ग्रहण गर्न कठिन हुने तर उद्देश्य भने सम्मान गर्नु नै भएको पनि स्पस्ट पार्न चाहन्छु। सबैको आ-आफ्नो कला, धर्म ,संस्कृति तथा भाषाप्रति मेरो सधैं उच्च सम्मान रहनेछ। धन्यवाद ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।