रुकुम पूर्व - रुकुम पूर्वमा एक हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन्। जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो।
रुकुम पूर्वका सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनले बुस्टर डोज लगाएका छन्। भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन्। सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगङ्गामा गाउँपालिकाको कार्यालयबाट खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
पुथाउत्तरगङ्गा गाउँपालिकामा बुस्टर मात्र नभई कोभिडको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या पनि कम छ। खोपप्रति चासो नदेखाउँदा कार्यक्रम प्रभावित बन्न पुगेको गिरीले बताए। गाउँपालिका र सम्बन्धित वडासँग समन्वय गरेर खबर गर्दा पनि नागरिक खोप लगाउनका लागि खोप केन्द्रसम्म पुग्न सकेका छैनन्।
भूमे र सिस्ने गाउँपालिकामा भने खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ। कोभिड–१९ विरुद्धको खोपले मानिसलाई सङ्क्रमण हुनबाट र सङ्क्रमण भइहाले त्यसबाट हुने जोखिमबाट सुरक्षित गर्ने भन्दै छुटेकालाई सम्बन्धित गाउँपालिका तथा स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।