हरेक अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्छ। अस्पताल फार्मेसी निर्देशिका, २०७२ ले प्रष्ट रूपमा यसको व्यवस्था गरेको छ। अस्पतालले फार्मेसी सञ्चालन गर्नुको मुख्य उद्देश्य अस्पतालको आय स्रोतलाई उकास्नुभन्दा पनि बिरामीलाई गुणस्तरीय औषधि सर्वसुलभ ढंगले प्रदान गर्नु हो।
तर, केही अस्पतालमा मापदण्ड पुर्याउनको लागि मात्र फार्मेसी राखिएको छ। आवश्यक स्रोत साधन र विज्ञ ‘फार्मासिस्ट’विना नै औषधि भण्डारण तथा वितरण गरिँदै आएको समाचार आइरहन्छन्।
कतिपय अस्पतालको स्थापनाकालदेखि नै सञ्चालनमा आएका फार्मेसीमा समेत औषधि पर्याप्त मात्रामा मौज्दात छैनन्। जसकारण बिरामीले सहज र सुलभ सेवा पाउन सकेका छैनन्। यसरी बिरामीले पाउनै पर्ने सेवा नपाउनुका विभिन्न कारण छन्।
झन्झटिलो खरिद प्रक्रिया
नेपाल सरकारको स्वामित्वमा रहेका निकायहरुले कुनै सामान किन्दा बोलपत्र आह्वान गरेर खरिद गर्न सकिने व्यवस्था छ। औषधि खरिद जस्तो संवेदनशील विषयलाई पनि स्टेशनरी र मसलन्दको ठेक्का सरह प्रक्रियाले थप झन्झटिलो बनाएको छ।
हरेक आर्थिक वर्षमा आवश्यक औषधिको परिमाण र विभिन्न आपूर्तिकर्ताहरुबाट दररेट प्राप्त गरी लागत मूल्यको अनुमान तयार गर्दा एक महिना लाग्ने गर्छ। त्यस पश्चात राष्ट्रिय दैनिक वा सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ईजीपी)बाट सूचना प्रकाशित भएपछि फेरि एक महिनाको समय सीमा दिने व्यवस्था छ।
विभिन्न इच्छुक आपूर्तिकर्ताले टेन्डर भरिसकेपछि अस्पतालको मूल्यांकन र खरिद एकाइबाट स्वीकृत हुँदासम्म फेरि लगभग एक महिना बित्छ अनि समग्रमा औषधि आपूर्ति हुँदासम्म छिटोमा तीन महिना लाग्छ। अस्पतालजस्तो सघन सेवा प्रदायक निकायसमेत यस किसिमको झन्झटिलो खरिद प्रक्रियामा रुमलिदा बिरामीहरुले कसरी पाउन सक्छन् समयमा औषधि?
फार्मेसी विभागलाई प्राथमिकतामा नराखिनु
जस्तापाताले घेरिएको भवन वा अस्पतालको लागि काममै नआएको ठाउँलाई फार्मेसी विभाग भनेर छुट्टाइन्छ। सम्भवतः प्रमुख आम्दानीको स्रोत फार्मेसी नै भए पनि अस्पतालको अन्य विभाग सरह फार्मेसीलाई प्राथमिकतामा राखेको पाइँदैन।
सीमित जनशक्ति र थेगिनसक्नु बिरामीको चाप तथा नियमित औषधिको विवरण संकलन र लेखाजोखाको कमीले समय समयमा औषधि अभावाको अवस्था सृजना हुन्छ। फार्मेसीलाई वैज्ञानिक ढंगले सञ्चान गर्न नसक्नु र व्यवस्थापकीय कमजोरीको कारण औषधिको अभाव हुने गर्छ।
गैरफार्मासिष्टलाई फार्मेसी स्टोरको जिम्मेवारी
औषधि सम्बन्धी जानकारी नै नभएकालाई फार्मेसी स्टोरको जिम्मेवारी दिँदा आवश्यक औषधि बेला बखत अभाव भइरहन्छ। गैरफार्मासिस्टलाई फार्मेसी स्टोरको जिम्मेवारी दिँदा अधिकतम खपत हुने र न्यूनतम प्रयोगमा आउने औषधिको वास्तविक यकिन हुँदैन। अझ अनावश्यक औषधिहरु थुप्रिएर म्याद सकिने र आवश्यक औषधिहरुसमेत मौज्दातमा नरहने अवस्था आउँछ।
ब्राण्ड र जेनेरिक नामको दुविधा
अस्पताल फार्मेसीले टेण्डर प्रक्रियाबाट खरिद गर्दा कुनै पनि औषधिको निश्चित एक ब्राण्ड मात्र खरिद गर्दछ। बजारमा सयौं उत्पादकहरुको विभिन्न ब्राण्डका एउटै जेनेरिक नामको औषधि पाइन्छ। उदहारणको रुपमा प्यारासिटामोल एक जनेरिक नाम हो। विभिन्न उत्पादकको विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध हुन्छन्। जस्तै निको, मोडोमोल, सेटाफेन, पोलार आदि।
औषधि एउटै भए पनि विभिन्न नामले यसलाई प्रचार गरिन्छ। जसलाई ‘ब्राण्ड नेम’ भन्ने गरिन्छ। अस्पताल फार्मेसीमा भएको ब्राण्ड चिकित्सकबाट तोकिएन भने सोही औषधि बिरामीले कुनै निजी फार्मेसीबाट चर्को मूल्यमा लिनुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुन्छ। औषधिले एउटै काम गर्ने भए पनि बिरामीहरु अस्पताल फार्मेसीबाट औषधि नलिई निजीमा खरिद गर्ने गर्छन्। तसर्थः जेनेरिक नामबाट औषधि प्रेस्क्राइब हुने हो भने पनि केही हदसम्म अस्पताल फार्मेसीमा औषधि पाँइदैन भन्ने भ्रम न्यूनीकरण हुन सक्छ।
तर, सबै ब्राण्डको गुणस्तरीय सामान हुन्छ भन्नेमा विश्वस्त रहने आधार भने हुँदैन। अस्पताल फार्मेसी निर्देशिका २०७२ मा जेनेरिक नामबाट प्रेस्क्राइब गरिनु पर्ने प्रष्ट व्यवस्था छ।
निजी स्वार्थ र खराब नियती
नियतबस औषधि खरिद नगरिनु वा खरिद प्रक्रिया नै अगाडि नबढाई निजी फार्मेसीमा पठाइ आर्थिक प्रलोभनमा पर्नुले पनि केही अस्पताल फार्मेसीमा औषधि नपाइने हुन सक्छ। विभिन्न अस्पताल फार्मेसीमा आर्थिक अनियमितताको खबर बेला बेलामा विभिन्न सञ्चार माध्यममा समेत आउने गरेको छ।
(लेखक श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका फार्मेसी विभाग प्रमुख हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।