काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै त्यसलाई 'अस्वीकार्य' भनेका छन्।
ओटावास्थित संसद्मा बुधवार सम्बोधन गर्दै ट्रुडोले कोभिड-१९ संक्रमण फैलन नदिन लागू गरिएका नियमहरूको बचाउ गरेका छन्।
उनले भनेका छन्, 'अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्।'
यसलाई अन्त्य गर्न सबैकाम गर्नुपर्ने उनको भनाइ छ। प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको' उनो आरोप थियो।
कोभिड संक्रमणपछि आइसोलेसनबाट उनी एक सातापछि सोमबारबाट संसद आएका हुन्।
केही समय यता क्यानडामा ट्रक चालकहरुले आन्दोलन गर्दा सहर ठप्प भएको छ। क्यानडा प्रहरीले दुई सातादेखि राजधानी सहर ठप्प पारेका ट्रक चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ।
ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।
लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ। सोमवारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्याएका छन्।
अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएपछि ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले प्रदर्शन अन्त्यको आह्वान गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।