काठमाडौं– काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र रद्द गरिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम बहादुर आलेको (मन्त्रीस्तरीय) निर्णयले याक एण्ड यतिको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र रद्द गरिएको हो।
क्यासिनो सञ्चालन गर्न पाउने इजाजत बापतको राजस्व, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जानकारी दिएको छ।
होटललाई एक पत्र लेख्दै विभागले राजस्व तिर्न भनेर सार्वजनिक सूचना जारी गर्दै दिइएको ३५ दिने तथा थप १५ भाकामा रकम दाखिला नगरेकाले होटलको सम्पूर्ण बैंक खाता तथा वित्तीय कारोबार रोक्का राखिएको जनाएको छ। यस्तै, होटलको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति रोक्का राख्ने निर्णय भएको पनि विभागले होटललाई जानकारी गराएको छ।
विभागका अनुसार होटलले क्यासिनो सञ्चालन गर्न पाउने इजाजत बापतको राजस्व, इजाजत नवीकरण दस्तुर लगायत ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।