भारत- उत्तर प्रदेश (युपी)को निर्वाचनको संघारमा भारतका दुई मुख्यमन्त्रीबीच ट्विटरमा 'सुनो' युद्ध छेडिएको छ। युपीका मुख्यमन्त्री आदित्यनाथ योगीले सुरु गरेको ट्विट हमलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जवाफ दिएका हुन्।
यसको सुरुवात भने भारतीय जनता पार्टीबाट निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन्।चुनावको संघारमा चलेको आरोप प्रत्यारोपको शृंखलामा मुख्यमन्त्रीहरु यो स्तरको भाषामा झरेका हुन्।
सोमबार युपीमा आफ्नो पार्टीको प्रचार गर्दै प्रधानमन्त्री मोदीले कोरोनाकालमा केजरीवालले दिल्लीबाट युपीका कामदारलाई लखेटेको आरोप लगाएका थिए। उनले भनेका थिए, 'दिल्लीमा यस्तो सरकार थियो र छ, जसले कोरोनाकालमा गाडीमा माइक लगाएर दिल्लीका गल्ली-गल्लीमा माइकिङ गर्दै संकट ठूलो छ, भाग-भाग भन्यो। यसले समस्या सिर्जना गर्यो।'
त्यसपछि केजरीवालको आम आद्मी पार्टीले त्यसको खण्डन गरेको थियो। खण्डन गर्दै भनिएको छ, 'प्रधानमन्त्री मोदीको वक्तव्य झुटो हो। उनीबाट देशले संवेदनशील राजनीतिको अपेक्षा गरिरहेको छ तर उनी भने फोहोरी राजनीतिमै व्यस्त छन्। प्रधामन्त्रीद्वारा लाजमर्दो राजनीति !'
त्यही ट्विटमा प्रधानमन्त्री मोदीले सोमबार दिएको अभिव्यक्तिसँग जोडेर सन् २०२० मार्चमा केजरीवालले दिएको वक्तव्य सार्वजनिक गर्यो। जहाँ केजरीवाल भनिरहेका छन्, 'जो जहाँ हुनुहुन्छ। त्यही बस्नोस्। तपाईंले जे समस्या पर्छ, म आश्वासन दिन्छु- तपाईंहरुलाई कुनै समस्या आउन दिनेछैन। तपाईंको खाने र बस्ने व्यवस्था गरिएको छ।'
केजरीवाल-योगीको 'सुनो'युद्ध
'आप'को यो खण्ड मुख्यमन्त्री योगीले सहन सकेनन्। उनले सुरुमा ट्विट गरे, 'अरविन्द केजरीवालले आदरणीय प्रधानमन्त्रीजीका बारेमा दिएको वक्तव्य घोर निन्दनीय छ। उनले पूरै राष्ट्रसँग माफी माग्नुपर्छ।'
योगीको आवेग यतिमै शान्त भएन। उनले लगत्तै फेरि अर्को ट्विट गरे। उक्त ट्विटमा भनिएको छ, 'सुनो केजरीवाल, जब पूरा मानवता कोरोनाको पीडाले कराइरहेको थियो। त्यो समय तिमी युपीका कामदारदलाई दिल्ली छाड्न विवश गरिरहेका थियौं। सानो बच्चा र महिलासमेत आधा रातमा युपीको सीमानामा असहाय छाड्ने जस्ता अलोकतान्त्रिक र अमानवीय कार्य दिल्ली सरकारले गर्यो। तिमीलाई मानवताद्रोही भनौं या… '
समकक्षीमाथि 'सुनो' भाषा प्रयोग भएकोमा विरोध भइरहँदा केजरीवाल पनि रोकिएनन्। उनी पनि त्यहीँ झरे र फर्केर ट्विट युद्ध छेडे, 'सुनो योगी, तिमी त कुरै नगर। जुन तरिकाले युपीका मान्छेका लास नदीमा बगिरहेका थिए, त्यो बेला तिमी करोडौं खर्च गरेर 'टाइम्स' म्यागजिनमा आफ्नो झुटो बाहबाही विज्ञापन दिइरहेका थियौं। तिमी जस्ता निर्दयी र क्रुर शासक मैले देखेको छैन।'
मुख्यमन्त्रीको भाषामाथि रविश कुमारको टिप्पणी
भारतका चर्चित पत्रकार रविश कुमारले योगीले सम्बोधन थालेको भाषामाथि टिप्पणी गरेका छन्। उनको भनाइ छ, 'युपीका मुख्यमन्त्रीले दिल्लीका मुख्यमन्त्रीमाथि 'सुनो केजरीवाल' सम्बोधन गरे। निश्चित रुपमा यो भाषा उचित छैन। प्रधानमन्त्री मोदी जो लोकतन्त्र र संघीयताका चिन्तक बताउँछन्, यो भाषामा आपत्ति जनाउलान्? जनाउन सक्दैनन्।'
योगीको भाषा निश्चित रुपमा तीनपल्ट मुख्यमन्त्री चुनिएका संवैधानिक व्यक्तिलाई खराब लाग्न सक्थ्यो तर उनले समेत 'सुनो योगी' भनेर सम्बोधन गरेको रवीशकुमार बताउँछन्। उनलाई लाग्छ, 'केजरीवालसँग यो बाहेकको विकल्प थिएन। आफ्नो सम्मानमा लेखिदिए। नलेखेको भए राम्रो हुन्थ्यो। योगीजी बताउनुहोस्- यस्तो भाषामा सम्बोधन गर्ने बुद्धि कहाँबाट आयो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।