काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन्। कृषि मन्त्रालयमा सोमबार भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन्।
'देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुनुपर्छ,' मन्त्री भुसालले भनिन्, 'हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। यहीभित्र नाफा, व्यापार खोजौँ। मेरो विनम्र आग्रह छ।'
लगानी बोर्डमार्फत् लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो।
जलविद्युत प्रयोग गरेर मल कारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, 'आवश्यकताअनुसारको विद्युत् उपलब्ध गराउन तयार हामी छौँ। जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार छौँ।' ऊर्जाकै कारणले मल उत्पादनमा लागत महँगो हुने स्थिति आउन नदिने उनले दाबी गरिन्।
डलरमा खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, 'हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावी पुस्ता, दिगो विकास लक्ष्य, विश्वसामू हामीले गरेका प्रतिबद्धतालाई समेत गहिरो ढंगले सोच्नुपर्छ।'
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्यसुरक्षाका लागि पनि मल कारखाना स्थापना महत्त्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए। उनले भने, 'दूरगामी हिसाबले पनि जलविद्युत् नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविष्यका लागि पनि यो नै उपयुक्त हुन्छ।'
नेपालमै मल कारखाना स्थापना गर्ने विषयको छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकारवाला पक्षको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।