काठमाडौं- बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन्।
युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेको बीबीसीले जनाएको छ।
गद्दी आरोहणको हिरक उत्सवको अवसरमा एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पार्नु भएको हो। क्यामिला युवराज चार्ल्सकी दोस्रो पत्नी हुन्।
युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए। चार्ल्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ।
तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी हुन्। पन्चानब्बे वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन्, 'मेरो छोरा चार्ल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।