चितवन– वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ। उद्योगले बनाएको काँचो इँट्टा पानीले नष्ट गरेको हो।
व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ। माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ। काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ। केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो। चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन्।
कोभिड १९ अघि १८ उद्योग सञ्चालनमा थिए। अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन्। सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा रहेका थिए। पानीले सबै इँट्टा नष्ट भएका छन्।
आफ्नो बिके इँट्टा उद्योगका १५ लाख काँचो इँट्टा नष्ट भएको उनले बताए। इँट्टा उद्योग महासंघका उपाध्यक्षसमेत रहेका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताए। ‘आत्मनिर्भर इँट्टा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेका छन्,’ उनले भने।
सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उहाँको भनाइ छ।
इँट्टा पकाउन प्रयोग हुने कोइला बाहेक अन्य कच्चा पदार्थ यहीँ पाइन्छ । केही जनशक्ति भारतबाट ल्याइन्छ। ठूलो संख्यामा नेपालीले स्वदेशमै रोजगारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।