काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ। माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपैयाँ बनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले किसानका लागि दूधको मूल्य वृद्धि गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन मन्त्रालयमा प्रस्ताव गरेको हो। यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गर्थ्यो। डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको बताए।
डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए। हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको छ।
मूल्य वृद्धि गर्ने १० रुपैयाँमध्ये प्रतिलिटर सात रुपैयाँ किसानलाई र तीन रुपैयाँ डेरी उद्योगीलाई जान्छ।राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको प्रतिवेदनअनुसार किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाइएको छ।
प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ। त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपैयाँ कायम गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।