हिमपातपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर
काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो २४ घण्टामा देशभर नै वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। देशभर नै अहिले सामान्यदेखि पूर्ण बदली भइ धेरै ठाउँमा मेघगजर्न, चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी नेपालगञ्जमा ६४.८ मिलिमिटर वर्षा भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा ५२.२ मिलिमिटर वर्षा भएको छ भने जुम्लामा ५०.७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौंमा ४१.९ मिलिमिटर वर्षा भएको छ। यस्तै डोटीको दीपालयमा ४८ मिलिमिटर वर्षा भएको महाशाखाले जानकारी दिएको छ। त्यस्तै, घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुङ्गामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाका अनुसार जुम्लाको तापक्रम सबैभन्दा कम माइनस १.० डिग्री सेल्सियस पुगेको छ। यस्तै, डडेलधुराको तापक्रम माइनस ०.६ डिग्री सेल्सियस पुगेको महाशाखाले जानकारी दिएको छ।
काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। अबको केही दिनबाट यो प्रणाली हटेर क्रमिक रूपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगजर्न, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा अझै हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।