काठमाडौं- बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटनमा भाग लिन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।
यस भेटपछि पश्चिमी सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) विस्तारको विरोधमा चीनले रुसलाई पनि साथ दिएको छ। युक्रेन संकटको बीचमा भएको यो भेटपछि जारी गरिएको दुई देशको संयुक्त वक्तव्यले पश्चिमा राष्ट्रहरूलाई स्पष्ट संकेत दिने प्रयास गरेको छ।
दुई नेताको भेटपछि संयुक्त विज्ञप्ति जारी गरी दुवै देशले नेटो विस्तारको विरोध गरेका छन्। योसँगै नेटोले आफ्नो वैचारिक शीतयुद्धको दृष्टिकोणलाई पछाडि छोडेर अन्य देशको सार्वभौमसत्ता, सुरक्षा र हितको सम्मान गर्नुपर्ने पनि बताएको छ।
विदेश नीतिमा चीन र रुस दुवैले एकअर्कालाई सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ। यसबाहेक, दुवै देशले एसिया प्यासिफिक क्षेत्रमा सैन्य वा अन्य कुनै गठबन्धनको विरोध गर्ने बताइएको छ।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार नेटोको विरुद्धमा चीनले रुसलाई समर्थन गरेको भए पनि रुसको तर्फबाट ताइवानलाई लिएर चीनको अडानलाई समर्थन गर्ने र यसको स्वतन्त्रताको विरोध गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।