काठमाडौं- नेपालले सन् २०१३ मा आठौँ साफ च्याम्पियनसिप आयोजना गर्दा समूह चरणको अन्तिम खेल पाकिस्तानसँग थियो। त्यतिबेला नेपालभन्दा पाकिस्तान बलियो थियो। सेमिफाइनल प्रवेशका लागि नेपालले कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्ने थियो। नेपालका प्रशिक्षक ज्याक स्टेफनोस्कीको रणनीति पनि बराबरी खेल्ने थियो।
तर, खेलको १३औं मिनेटमा नै पाकिस्तानले एक गोलको अग्रता लियो। त्यसपछि नेपाली खेलाडी आक्रामक भए। तर, पाकिस्तानको बलियो डिफेन्स तोड्न सकिरहेका थिएनन्। जति समय ढल्किँदै थियो, दशरथ रंगशालमा खेल हेर्न पुगेका २० हजार दर्शकको आवाज मत्थर हुँदै गइरहेको थियो।
खेल दोस्रो हाफको अतिरिक्त समयतिर पुग्यो। रेफ्रीले चार मिनेट समय थपेका थिए। त्यसको दोस्रो मिनेटमा नै १४ वर्षीय विमल घर्ती मगरले गोल गरे। रंगशाला एकाएक घन्कियो, गोल...।
विमल खेलको ६७औँ मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका थिए। तत्कालीन कप्तान सागर थापाले गरेको लामो प्रहार विपक्षी गोलरक्षकले फर्काएपछि विमलले ‘रिबाउण्ड’ मा गोल गरेका थिए। त्यही गोलका कारण विमल चम्किए। नेपाल सेमिफाइनलमा पुग्यो। त्यतिबेला पाकिस्तानका प्रशिक्षक साजाद अनवरले भनेका थिए, ‘एउटा युवा खेलाडीको जादुयी गोलले नतिजामा फरक पार्यो। विमल दक्षिण एसियाली फुटबलको भावी सुपरस्टार हुन्।’
तर, अनवरले तारिफ गरेजस्तो विमलको करिअर भने सहजै अगाडि बढ्न सकेन। व्यक्तिगत र खेल जीवनमा उथलपुथल बेहोरेका उनका लागि पछिल्ला तीन वर्ष निकै खराब रह्यो। करिब दुई वर्षअगाडि बन्द प्रशिक्षणमा रहेका बेला अनुमतिविना बाहिर निस्किएर नाइट क्लब पुगेपछि कारबाहीमा परे। भुटान उड्नु केही घन्टाअघि मात्रै उनी राष्ट्रिय टोलीबाट निकालिएका थिए। त्यतिमात्र नभइ ९० दिनको निलम्बन पनि बेहोरे। उनीसँग कारबाहीमा परेका अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीले स्वदेशमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने अवसर गुमाउनुपरेको थियो। नेपालले १२औं सागमा फुटबलतर्फ स्वर्ण जितेको थियो।
कारबाही फुकुवा भएपछि विमल अघिल्लो सिजन लिगको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लवबाट मैदान उत्रिए। त्यसपछि मोसफलका थुप्रै प्रतियोगितामा ‘कमब्याक’ गर्ने कोसिस गरे। गत वर्ष पुसमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि फर्किए। तर, प्रशिक्षणकै क्रममा घाइते भए र पुनः राष्ट्रिय टोलीमा फर्किने अवसर गुम्यो।
प्रशिक्षणका क्रममा उनको घुँडाको ‘एन्टेरियर क्रुसियट लिगामेन्ट’ (एसीएल) च्यातिएको थियो। ‘मेडियल कोल्याटरल लिगामेन्ट’ (एमसीएल) मा पनि चोट लागेको थियो। कतारस्थित अस्पेटर अस्पतालमा शल्यक्रिया त भयो, तर बारम्बार प्रश्न उठिरह्यो- कतै विमलको करिअर नै संकटामा परेको त होइन!
चोटका कारण धेरै खेलाडीले अनपेक्षित रूपमा खेल जीवन त्याग्नुपरेका उदाहरण प्रशस्त छन्। तर, विमलले खेल जीवनबाट विश्राम लिनु परेन। दायाँ घुँडाको शल्यक्रिया गरेका उनले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमार्फत् मैदानमा पुनरागमन गरे। मछिन्द्रबाट खेलेका विमलले जारी लिगमा तीन गोल गरिसकेका छन्। ब्रिगेड ब्वाइजविरुद्धको खेलमा उनी उत्कृष्ट लयमा देखिए, र दुई गोल गरे।
तर, लिग च्याम्पियन मच्छिन्द्रमा आबद्ध हुँदै मैदानमा फर्किंदा सुरुमा उनी सहज देखिएका थिएनन्। मच्छिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘चोट लागेपछि उनले लय गुमाए, आत्मविश्वास गुमाए। उनी सुरु-सुरुमा फिट नरहेका कारण दोस्रो हाफमा केही मौका दिइयो। उनमा अहिले पनि आत्मविश्वासको कमी छ। आत्मविश्वास फर्किन केही समय लाग्ला।’
प्रवेशले भनेजस्तै सुरुआती खेलमा विमल आफूलाई सम्हालेर दौडिरहेका देखिन्थे। ‘बल कन्ट्रोल’ गुमाएका थिए भने पाएका अवसरलाई पनि सदुपयोग गर्न सकिरहेका थिएनन्। त्यसैले उनीमाथि प्रशिक्षकको उस्तो भरोसा थिएन। उनले लिग चरणका पाँच खेलमा पूरा समय खेल्न पाएनन्। पहिलो खेल १० मिनेट मैदान उत्रिएका विमलले दोस्रो खेल २९ मिनेट खेले। तर, तेस्रो खेलमा अवसर नै पाएनन्।
उनले ‘कमब्याक’ गोल भने हिमालयन शेर्पाविरुद्ध गरेका थिए। खेलको ७४औं मिनेटमा मैदान छिरेका उनले गोल गर्न सकेपछि लिगका बाँकी खेलमा मैदान उत्रिने अवसर मिलेको थियो। त्यसपछि उनलाई मच्छिन्द्र मात्रै होइन, राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि विश्वास गरे।
मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमध्ये शनिबार दशरथ रंगशालामा भएको खेलमा पहिलो रोजाइमै उनी मैदानमा उत्रिन पाए। उक्त खेलमा विमलले गोल मात्रै गरेनन्, मैत्रीपूर्ण खेलमा जितको ११ वर्षे खडेरीलाई समेत तोडे।
फिफा वरीयतामा तीन स्थानमुनि रहेको अफ्रिकी राष्ट्रविरुद्ध नेपालले १-० को जित निकाल्दा एक मात्र गोल विमलकै नाममा रह्यो। उनले अञ्जन विष्टको चलाखीपूर्ण लामो पासमा ५५औं मिनेटमा प्रहार गरेको बलले पोल छुँदै गोलपोस्ट चुमेको थियो।
राष्ट्रिय टोलीमा २७ महिनापछि फर्किएका विमलले नेपालका लागि आफ्नो गोल संख्या नौ पुर्याएका छन्। मरिससविरुद्ध गरेको गोल उनको डेब्यू गोलसँग केही समान थियो। सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध उनले पूर्वतर्फ रहेको पोस्टमै गोल गरेका थिए। त्यसैले हुनसक्छ, उनले गोलको खुसीयाली पनि उस्तै बेजोड तरिकाले मनाए।
गोलपछिको खुसीयाली मनाउँदा लाग्थ्यो- उनी त्यो क्षणका लागि प्रतीक्षरत थिए। खुसीयाली मनाउँदा जर्सी खोल्ने मुडमा देखिन्थे। तर, के सोचे, त्यही क्रममा दौडँदै प्रशिक्षक अल्मुताइरीलाई गर्ल्याम्म अंगालो हाल्न पुगे। चोटमुक्त भएर मैदान फर्केको छोटो समयमा नै अल्मुताइरीले आफूमाथि देखाएको विश्वासका कारण सायद विमल उनलाई धन्यवाद दिन चाहन्थे। त्यसैले पहिलो खुसी नै उनले अल्मुताइरीसँग साटे।
अल्मुताइरी पनि यत्ति खुसी थिए कि विमलको गोलको खुसीयाली मनाउन उनी मैदानभित्रै छिरे। अन्य खेलाडी पनि सँगसँगै खुसी मनाउन नपुग्ने कुरै भएन। खुसी नहुनु पनि किन? पछिल्लो तीन वर्ष विमलको खेल जीवनकै खराब समय थियो।
खराब समयबाट ‘कमब्याक’
सन् २०१२ मा बंगलादेशको यू-१६ विरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमार्फत् १३ वर्षमै विमलले उमेर समूहमा ‘डेब्यू’ गरेका थिए। उमेर समूह हुँदै सिनियर टोलीमा प्रभाव जमाइसकेका विमलबाट समर्थकले जति आशा गरेका थिए, त्यति भने देख्न पाएका छैनन्।
चोट र अन्य कारणले उनी राष्ट्रिय टोलीमा नियमित रूपमा रहन सकेनन्। त्यसमा उनका आफ्नै केही कमजोरी पनि रहे। उनले नियमित खेल्न सकेको भए सायद राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानलाई भंग गरिसक्ने थिए कि! अपेक्षा गर्न सकिन्थ्यो।
तर, व्यक्तिगत र खेल जीवनमा निकै उतारचढाव बेहोरेका उनले त्यो मौका गुमाए। युरोपमा प्रशिक्षणकै क्रममा बहिनी मनिषाको मृत्युले उनलाई विक्षिप्त बनायो। त्यसले उनको खेलमा मात्रै होइन, व्यक्तिगत आनीबानीलाई समेत निक्कै प्रभावित बनायो।
त्योभन्दा अगाडि उनको ‘करिअर’ले उडान समातिसकेको थियो। ६ वर्षअघि उनकै कप्तानीमा नेपालले साफ यू-१९ को उपाधि जितेको थियो। नेपालले बंगबन्धु गोल्ड कप, त्यही वर्ष सोलिडारिटी कप र १२औं सागमा स्वर्ण पदक जित्दा उनी टोलीको महत्त्वपूर्ण सदस्य थिए।
२०७५ भदौ २३ गते साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्धको २-० को जितमा विमलले पहिलो गोल गरेका थिए। त्यसयता शनिबार मात्र विमलले राष्ट्रिय टोलीका लागि गोल गर्न सके। यो गोलसँगै उनले फेरि राम्रो लय समात्ने संकेत देखाएका छन्। मुख्य प्रशिक्षक अल्मुताइरी भन्छन्, ‘विमलसँग धेरै अपेक्षा गरेका छौं। त्यसैले विमल अगाडि बढ्नुपर्छ, यो गोल महत्त्वपूर्ण हो। तर, हामीलाई यत्तिले मात्रै पुग्दैन। उनले थप मिहिनेत गरेर देशका लागि राम्रो प्रदर्शन गर्नुपर्छ।’
विमललाई राष्ट्रिय टोलीमा टिकाउन उक्त गोल निक्कै महत्त्वपूर्ण थियो। यसअघि तीन वर्ष राष्ट्रिय टोलीमा नरहँदा उनले विश्वकप छनोटका खेल र माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप गुमाए। त्यसअघि नेपालमै सम्पन्न त्रिदेशीय कप र भारतविरुद्ध घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेल पनि गुमाए। राष्ट्रिय टोलीमा ‘कमब्याक’ गरिसकेका उनले अब गुमाउनुपर्नेभन्दा पाउने उपलब्धि बढी छन्।
प्रशिक्षक अल्मुताइरीले पनि विमलले यो गोलबाट अघि बढेर आउने दिनको बारेमा सोच्नुपर्ने बताएका छन्। उनले भने, ‘उनको आफ्नो भूमिका छ। अब उनले अझै मिहेनत गरेर देशका लागि राम्रो प्रदर्शन गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।