काठमाडौं- पर्थ स्कोचर्सले बिग बास लिगको उपाधि जितेको छ। पर्थले शुक्रबार फाइनलमा सिड्नी सिक्सर्सलाई ७९ रनले हराउँदै चौथो पटक लिगको कीर्तिमानी उपाधि जितेको हो।
१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी १६.२ ओभरमा ९२ रनमा अलआउट भयो। सिड्नीका ड्यानियल हग्सले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
तर, अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। पर्थका एन्ड्रयू टाईले ३ विकेट लिए। झेय रिचर्ड्सनले २, जेसन बेहरनडोफ, एश्टन टर्नर र एश्टन अगरले १–१ विकेट लिए।
त्यसअघि मेलबर्नमा टस हारेर ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। पर्थका लौरी इभान्सले ७६ रनको अविजित विजयी इनिङ्स खेले। उनले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, कप्तान एश्टन टर्नरले ५४ रन बनाए। सिड्नीका नाथन लायन र स्टिभ ओकिफले २–२ विकेट लिए। पर्थले यसअघि २०१४, २०१५ र २०१७ मा उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।