काठमाडौंं- नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले शनिबार हुने तय भएको साधारण सभा बहिस्कार गर्ने भएका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघका महासचिव भट्टाचार्यले अध्यक्ष राम अवाले र कार्यबाहक कोषाध्यक्ष गौतम सुखजुले मनोमानी गरेर आफू खुशी साधारण सभा गर्न लागेको भन्दै बहिस्कारको घोषणा गरेका हुन्।
कार्यकाल सकिएको संघमा जथाभावी रुपमा सदस्यहरु मनोनीत गर्ने काम गर्दै आएको र कोरोना महामारीको समयमा साधारण सभा गर्न लागेको भन्दै उनले बहिस्कार गर्न लागेको बताएका छन्।
‘हामी सबैको सहमतिमा साधारण सभा होस् र विवादास्पत विषयका कुराहरुलाई पहिला सहमति बनाएर नियम र विधानअनुसार सौर्हद वातावरणमा साधारण सभा हुनपर्छ भन्ने आसायको साथ एक लौटी ढंगले भोलि गर्ने भनेको साधारण सभा भिड जम्मा गर्ने र हस्ताक्षर संकलन गर्ने भेलालाई बहिस्कार गर्ने जानकारी गराउन चाहन्छौं,’ भट्टाचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाल बक्सिङ संघ लामो सयमदेखि विवादमा मुछिँदै आएको छ। यसअगाडि पनि संघका महासचिव भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले माघ १५ गतेका लागि तय साधणसभा रोक्न माग गरेका थिए।
उनीहरुले संघको नेतृत्व विगत लामो समयदेखि एलौटी र स्वेच्छाचारी ढंगबाट चल्दै आएको तथा बहुसंख्यक पदाधिकारीको जानकारीविना साधरणसभा तय गरेको भन्दै त्यसलाई रोक्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा छुट्टाछुट्टै निवेदन दिएका थिए।
राजीव श्रेष्ठलाई प्रतिस्थापन गरी २०७३ जेठ २२ गते अवाले बक्सिङ संघको नेतृत्वमा आएका थिए। त्यसको केही समयपछि नै उनले आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई ‘कोर कमिटी’ को संयोजक बनाएर आफू त्यही कमिटीमा सदस्य बसेका थिए।तत्कालै बसेको कार्यसमिति बैठकले अध्यक्षको निर्णय उल्ट्याएर ‘कोर कमिटी’ भंग गरेको थियो।अध्यक्षको निर्णयको विरोध गर्नेमा केन्द्रमा थिए भट्टाचार्य।
बक्सिङ संघको बैठक हरेक तीन महिनामा बस्ने प्रावधान छ।अवाले अध्यक्ष तथा गौतम सुखजु कोषाध्यक्ष चुनिएपछिको सुरुआती ३ बैठकमा आर्थिक प्रतिवेदन बहुमत सदस्यले पास गरेको थिएन। त्यसपछि बैठकमा आर्थिक प्रतिवेदन पेस हुन सकेको छैन।
४ वर्षको बीचमा एकपल्ट पनि वार्षिक साधारणसभा हुन सकेको छैन। त्यसैले संघले माघ १५ मा ललितपुरको क्लासिक बेङ्क्वेटमा वार्षिक साधरणसभा आह्वान गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।