पर्वत– बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी पोष्ट स्थापना गरिएको छ। पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो।
बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दु रहेको स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।
दुवैतर्फका राजमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी पोष्टले ठूलो भूमिका खेल्ने बुढाथोकीले बताए।
अस्थायी प्रहरी पोष्टको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुभारम्भ गरेकी हुन्। प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रशासन शाखाको यही माघ ५ गते र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्यशाखाको माघ ६ गतेको पत्रको आदेशानुसार अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।