बेलबारी– मोरङको बेलबारी बस्ने एक महिलालाई मोरङकै सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा ल्याएर बलात्कार आरोपमा प्रहरीले सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलिया चोकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।
उनीहरुले माघ ७ गते साँझ ५ बजेतिर सुनसरीको इटहरीबाट घर फर्किरहेकी महिलालाई घरसम्मै पुर्याइदिने भन्दै गाडीमा राखेर होटलमा ल्याइ बलात्कार गरेका प्रहरीको भनाइ छ।
पीडित महिलाले माघ ८ गते आफूमाथि बलात्कार भएकोबारे प्रहरीमा उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो।
घटनापछि फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने माघ ११ गते इलामको सूर्योदय नगरपालिका–१२ तीनघरेमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
प्रदेश १ प्रहरी कार्यालय (आरआईटी) र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।