काठमाडौं– २९ भन्दा बढी जिल्लामा रहेका बाढी, पहिरो र बेमौसमी वर्षा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराइएको छ।
अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेसनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामग्री वितरण गरिएको हो।
झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत वितरण गरिएको हो।
‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’राहत वितरणको संयोजन गरेका सञ्जिव बस्यालले भने।

रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामग्री उपलब्ध गराउने लक्ष्य छ। जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत वितरण भइसकेको छ।
रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी छ।
स्थानीय तहले सूचीकृत गरेका पीडितहरुलाई राहत सामाग्री वितरण गरिएको बस्याले जानकारी दिए। एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा कम्मल लगायतका सामग्री उपलब्ध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।