काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक जना मृत फेला परेका छन्।
रामेछापको मन्थली नगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री बिहीबार बिहान नगरपालिकाको भवनमा मृत फेला परेको प्रहरीले जनाएको छ।
खत्री कीर्तिपुर नगरपालिका-१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए।
उनी कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। बिहान अवेरसम्म नउठेपछि उनलाई अन्य साथीले बोलाएका थिए। तर नबोलेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थल पुगेको प्रहरीले भेन्टिलेटर काटेर हेर्दा खत्री मृत अवस्थामा फेला परेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।