काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएपछि लोकेश बमलाई लागेको थियो- यो कतै सपना त होइन? किनभने क्यानले बन्द प्रशिक्षणमा बोलाएका ३० खेलाडीमा उनी समावेश नै थिएनन्।
यो सपना त थिएन नै बरु लोकेशले सात वर्षअघि देखेको सपना विपनामा परिणत भएको थियो। सन् २०१४ मा बंगलादेशको चटगाउँस्थित जोहुर अहमद चौधरी रंगशालामा नेपाल टी-२० विश्वकपको ऐतिहासिक खेलमा सहभागी हुँदै गर्दा उनले आफू पनि कुनै दिन राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका थिए। तर, भर्खरै ११ वर्ष लागेका उनलाई न क्रिकेटबारे राम्रो ज्ञान थियो, न त नेपाली राष्ट्रिय टोलीबारे नै।
विश्वकपको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले हराएपछि उनले बल्ल नेपाली राष्ट्रिय टोलीका सदस्यबारे थाहा पाएका थिए। त्यसको ठीक सात वर्षपछि उनी आफैं राष्ट्रिय टोलीको सदस्य छन् र देशलाई पुनः टी-२० विश्वकपमा पुर्याउने जिम्मेवारी पनि छ।
‘सानैदेखि अरु देशले विश्वकप खेलेको हेर्दै आएको थिएँ। तर, नेपाली टोली पनि छ भन्ने थाहा थिएन। नेपाल पहिलो पटक विश्वकपमा पुगेको देखेपछि म पनि एक दिन विश्वकप खेल्छु भने सपना बुनेको थिएँ। यसपटक त्यो मौका थियो,’ उनी भन्छन्, ‘तर, खेलाडीलाई क्लोज क्याम्पमा बोलाइसकिएको थियो। तैपनि पीएम कपबाट केही खेलाडी राख्ने भन्ने सुनेपछि अलिकति होप थियो।’
करिब एक महिनाअगाडि नेपाल क्रिकेट संघ (क्यान)ले आगामी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल ‘ए’ छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा उनको नाम थिएन। तर, क्यानले पछिल्लोपटक टोली घोषणा गर्दा उनी समेटिएका छन्।
गत साता सकिएको पीएम कप टी-२० क्रिकेट प्रतियोगतामा एपीएफ क्लबलाई उपाधि जिताउन लोकेशले उत्कृष्ट प्रदर्शन गरे। उनले सेमिफाइनलमा आफ्नो पूर्वक्लब त्रिभुवन आर्मीविरुद्ध मात्र १८ बलमा ९ छक्का र २ चौकासहित ६६ रनको अविजित इनिङ्स खेले। १४ बलमै अर्धशतक पूरा गर्दै उनले सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली खेलाडी बने।
उक्त खेलमा ९ रन बनाएका कप्तान शरद भेषावकर १७औं ओभरको तेस्रो बलमा ‘स्क्वायर लेग’मा ‘क्याच’ भएपछि लोकेश क्रिजमा छिरेका थिए। खेल सकिन जम्मा २१ बल बाँकी थियो। उनले आर्मीका तीव्र गतिका बलर जितेन्द्र मुखियालाई लगातार तीन छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे। उनको ‘फिनिसिङ’ पनि उस्तै आक्रामक थियो।
समूह चरणमा पनि लोकेशले यस्तै आक्रमक खेल देखाइसकेका थिए। निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको बागमतीविरुद्ध उनले २१ बलमै अर्धशतक प्रहार गरेका थिए। उनी भन्छन्, ‘मेरो खेल्ने शैली यही हो। महत्त्वपूर्ण कुरा टिमको लागि रन बनाउनु थियो। मैले त्यो गरें। टाइमिङ मिल्दा सफलता हात पारें।’
प्रतियोगतामा सर्वाधिक रन बनाउने खेलाडीको उनी छैटौं स्थानमा छन्। उनले ६ खेलमध्ये दुई खेलमा अविजित रहँदै १५२ रन बनाए। औसतमा ३८ रन बनाएका उनको सर्वाधिक रन ६६ हो। उनले दुई अर्धशतक बनाए भने समग्र इनिङ्समा १३ चौका र त्यति नै छक्का प्रहार गरे। तिनै दुई अर्धशतकीय इनिङ्ले लोकेशका लागि राष्ट्रिय टोलीको ढोका खुलेको हो।
यसअघि उनले यू–१९ टोलीबाट भने नेपालको प्रतिनिधित्व गरिसकेका छन्। सन् २०१८ मा भारतको लखनउमा भएको सिरिजमा भारतको ‘ए’ र ‘बी’ यू–१९ टोलीसँग अफगानिस्तान र नेपालका यू–१९ टोलीले पनि प्रतिश्पर्धा गरेका थिए। उक्त सिरिजमा अफगानिस्तानविरुद्धका दुई खेलमा मौका पाउँदा उनले जम्मा ३१ रन मात्र बनाएका थिए।
क्यानले नेपालको यू–१९ टोलीका लागि पहिलो चरणमा ३० जनालाई बोलाएको थियो। निरन्तर खराब प्रदर्शनका कारण अनुभवी लोकेशको सट्टामा नयाँ खेलाडीले मौका पाए। यू–१९ राष्ट्रिय टोलीमा नपरेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै सबैलाई चकित बनाइदिए।
त्यसपछि मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि नेपालले जित्दा उनी पनि टोलीमा थिए। तर, कुनै पनि खेलमा मौका पाएनन्। त्यसपछि श्रीलंकामा भएको यू–१९ प्रतियोगितामा पनि टोलीमा परेका उनले मैदान प्रवेशको अवसर नै पाएनन्। उमेर समूहमा कुनै खेलमा पनि उनले प्रभाव छाड्न सकेनन्। मुख्य प्रतिगितामा जसले मैदानमा प्रभाव देखाउन सक्दैन, उसको सम्भावना कम हुँदै जान्छ। अघिल्लो महिना युएईमा सम्पन्न भएको यू–१९ एसिया कपका लागि उनी टोलीमै थिएनन्।
क्यानले नेपालको यू–१९ टोलीका लागि पहिलो चरणमा ३० जनालाई बोलाएको थियो। निरन्तर खराब प्रदर्शनका कारण अनुभवी लोकेशको सट्टामा नयाँ खेलाडीले मौका पाए। यू–१९ राष्ट्रिय टोलीमा नपरेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै सबैलाई चकित बनाइदिए।
खेलाडी छनौटको आधार विगत नभएर वर्तमानको प्रदर्शन नै हो। गत वर्ष प्रधानमन्त्री कप र मेयर्स कपमा त्रिभुवन आर्मी क्लबबाट खेल्दा उनी त्यति जम्न सकेका थिएनन्। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ६ खेलमा १२७ रन बनाएका थिए। उनको स्ट्राइक रेट ११३.३९ थियो। उक्त प्रतियोगितामा १०० भन्दा बढी रन बनाउने ब्याट्सम्यानमा सयमाथिको स्ट्राइक रेट भएका लोकेश तेश्रो ब्याट्सम्यान थिए।
उनले यो वर्ष आर्मी छाडेर एपीएफको लागि खेल्ने निर्णय गरे। आर्मीमा रहन नौ महिना अनिवार्य तालिम गर्नुपर्ने भएपछि उनले टिम छाड्ने निर्णय गरेका हुन्। सुरुवातमा तीन महिना मात्र तालिम गरे पुग्ने बताइएको थियो। पछि लामो तालिम अनिवार्य भएपछि उनले खेल छुटाउन चाहेनन्। उनको उक्त निर्णय सही सावित हुन पुग्यो।
उनले एपीएफबाट शानदार प्रदर्शन गरे। ‘निरन्तर प्रदर्शन गर्दै टिममा परिरहन गाह्रो छ। यसअघि मैले राम्रो प्रदर्शन गर्न सकिनँ। त्यसैले यू–१९ मा नपर्दा खासै दुःख लागेको थिएन। तर, जे हुन्छ राम्रोकै लागि हुन्छ। यसपटक क्लबबाट पनि मौका पाएँ र राष्ट्रबाट पनि,’ उनले भने।
धनगढीबाट यू–१९ को यात्रा
लोकेशले सन् २०१५ देखि धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण सुरु गरेका थिए। उनको प्रतिभा चिनेर नै पूर्वराष्ट्रिय क्रिकेटर दीपेन्द्र चौधरीले आक्रामक ब्याटर बनाए। त्यही क्षमता राष्ट्रिय टोलीमा पर्ने कारण बन्यो।
डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका लोकेशले पहिला लन टेनिस बलले क्रिकेट खेलेका थिए। त्यति बेला बाल मस्तिष्कमा क्रिकेट खेलेर देशको प्रतिनिधित्व गर्ने र खेल्नका लागि विदेश पुग्ने सोच थिएन। यद्यपि, टी-२० विश्वकपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, सुवास खकुरेलजस्ता खेलाडीको खेल हेरेपछि क्रिकेटमा भविष्य बनाउने सपना बुने।
तर, उनको चाहनालाई सुरुमा परिवारले साथ दिएन। उनका बाबुले क्रिकेटभन्दा पढाइमा ध्यान दिन भने। ‘बुबाले पढाइमा ध्यान दिन भन्नु हुन्थ्यो। बुबाले क्रिकेट खेल्न रोकेपछि आमासँग गएर अड्डी कसेँ। अनि मात्र धनगढी क्रिकेट एकेडेमीमा भर्ना हुन पाएँ,’ उनी भन्छन्।
धनगढी क्रिकेट एकेडेमीका प्रशिक्षकले उनलाई बलिङभन्दा ब्याटिङ गर्न सुझाए। एकेडेमीमा नेटमा अभ्यास गर्दैगर्दा चौधरीले उनको ब्याटिङ देखे। अन्य खेलाडीसँग पनि उनको बारे सोधे। त्यसपछि चौधरीले उनलाई माथिल्लोस्तरमा खेल्नसक्ने खेलाडी भएको बताए। उनले नै यू–१९ राष्ट्रिय टिमसम्मको बाटो देखाए। ‘एक दिन धनगढीमा चौधरी सर आउनु भयो। उहाँले मेरो क्षमता देखेर बोलाउनु भयो। उहाँबाट सिक्दै गर्दै यू–१९ टोलीबाट खेल्न पाएँ,’ उनी भन्छन्। उनी काठमाडौंमा भएको ट्यालेन्ट हन्टबाट सन् २०१८ मा यू–१९ राष्ट्रिय टोलीमा छानिएका थिए।
पीपीएलको त्यो इनिङ्स
यू–१९ मा प्रदर्शन राम्रो नभएपछि उनी क्रिकेट सिक्नकै लागि दिल्ली गए। दिल्लीमा आफन्त थिए। त्यहीँ बसेर उनले द्वारिका क्रिकेट एकेडेमीमा तीन महिना प्रशिक्षण लिए। दिल्लीमा गरेको अभ्यासले उनलाई आत्मविश्वास जगायो।
त्यसपछि विराटनगर टाइटन्सका तत्कालीन कप्तान रहेका प्रदीप ऐरीले उनलाई आफ्नो टिममा भित्र्याए। उनले सन् २०१९ को पोखरा प्रिमियर लिग (पीपीएल) मा मौका पाए। उक्त प्रतियोगितामा पारस खड्काले कप्तानी गरेको चितवन राइनोजविरुद्ध उनले ३६ बलमा ५ चौका र ५ छक्का मद्दतले ६२ रन बनाए। उनले पारस खड्का, करन केसी, बिक्रम सोब, रोहन मुस्तफाजस्ता बलरविरुद्ध आक्रामक सटहरू खेले।
‘एक्स्पर्ट धनगढी ब्लुजविरुद्धको पहिलो खेलमा विराटनगरले अनुभवी खेलाडीलाई मौका दिएको थियो। पोखरा पल्टनविरुद्धको दोस्रो खेलमा मौका पाए पनि केवल २ रन जोड्न सकें,’ उनी भन्छन्, ‘प्रतियोगितामा आफूलाई प्रमाणित गर्नु थियो। त्यसैले चितवनविरुद्ध विगत बिर्सिएर खेलें।’ उक्त अर्धशकतबाट उनले प्रसंशा बटुले। पारस खड्काले पनि उनको प्रसंशा गरेपछि प्रफुल्लित भएका थिए। प्रतियोगितामा पाँच खेलमा एक अर्धशतकसहित ९७ रन जोडेका उनी पीपीएलको ‘मोस्ट भ्यालुएबल’ खेलाडी चुनिएका थिए।
फाइनलमा चितवन राइनोजसँग उनको टोली विराटनगर पराजित भयो। तर, उनले गजबको छाडेका थिए। त्यही प्रतियोगिताले उनको क्षमता चिनाएको थियो। तर, पटक पटक प्रारम्भिक टोलीमा बोलाइए पनि उनले राष्ट्रिय टोलीमा स्थान भने बनाउन सकेका थिएनन्। उनी गत वर्ष नेदरल्याण्ड्स र मलेसियासँग खेलिएको त्रिकोणात्मक टी-२० सिरिजमा समेत प्रारम्भिक टोलीमा थिए। तर, तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले कुशल भुर्तेल, रोहितकुमार पौडेल, आरिफ शेखलगायत युवा खेलाडीलाई मौका दिँदा उनी प्रारम्भिक टोलीबाटै बाहिरिए।
यस्तै, उनी गत वर्ष क्रिकेट विश्वकप लिग-२ को ओमान र अमेरिकासँग हुने भनिएको सिरिजमा समेत प्रारम्भिक २४ सदस्यीय टिममा थिए। तर, उक्त प्रतियोगिता कोरोनाका कारण स्थगित भयो।
यसपटक उनले क्षमता र आत्मविश्वास दुवै देखाएका छन्। ‘मैले आफूलाई क्षमतावान देखाउनु थियो। प्रयास जारी राखें। मिहिनेत गरिरहें। हार खाइनँ। त्यसैले होला अहिले टोलीमा परें,’ उनी भन्छन्, ‘अब अन्तिम–११ मा स्थान पाउने वा नपाउने त्यो कोचको हातमा हुन्छ। तर, अवसर पाएँ भने नेपाललाई विश्वकपमा पुर्याउने छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।