काठमाडौं– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो सेवा प्रवाह गर्न थालेको छ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर जिप्रका रौतहटले आलोपालो प्रणाली अनुसार नागरिकता, राहदानी, मधेशी प्रमाणितलगायत सेवा प्रवाह गर्न थालिएको हो।
कार्यालयमा हुने भिडभाडलाई कम गरी कोरोनाको जोखिमबाट नागरिकलाई जोगाउनका लागि आलोपालो गरेर सेवा प्रवाह गरिरहेका जिल्ला प्रशासनका कार्यालयले जनाएको छ।
आइतबार र सोमबार गौर, राजदेवी, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाको मंगलबार र बुधबार बौधिमाई, देवाहीगोनाही, राजपुर नगरपालिकाका र यमुनामाई गाउँपालिकाको नागरिकलाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए।
त्यसैगरी बिहीबार र शुक्रबार मौलापुर, कटहरिया, परोहा तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने बताइएको छ । यसैगरी सार्वजनिक, निजी कार्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गरिने प्रजिअ शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।