काठमाडौं– गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रका होटलमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
अदालतले बुधबार घटनामा संलग्न ९ जनालाई पूर्पपक्षका लागि थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरुलाई जनही ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गत पुस १२ गते साँझदेखि गोंगबु इलाकाको मित्रनगरस्थित गेष्टहाउसहरुमा ३४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– १० झाकोट घर भएका २३ वर्षीय हिक्मत नेपाली, सोही ठाउँका २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, २६ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका– ६ लिउडीका २१ वर्षीय सुरेश सेज्वाल, छायानाथ रारा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ का ४३ वर्षीय गोपालकुमार शिरिष छन्।
यस्तै, अनुसन्धान गर्दा गेष्टहाउस सञ्चालकहरुको गम्भीर लापरबाही देखिएको भन्दै द्रोणचार्य पौडेल, जानुका घिमिरे पोखरेल र मन्जु खरेललाई समेत पक्राउ गरिएको थियो।
सरकारी वकीलको कार्यालयमार्फत् अदालतमा थुनछेक बहस पश्चात् घटनामा संलग्न अभियुक्तहरू पूर्पक्षका लागि कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा थुनामा गएका र उक्त घटनामा प्रयोग भएका गेष्टहाउस सञ्चालकहरुसँग जनही ३/३ लाख धरौटी माग गरिएको प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।