काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै महानिर्देशक ढकाललाई मन्त्रालय तानेका हुन्। राष्ट्रिय औषधि प्रयोगशालामा पठाए पनि ढकालले जान अटेर गरेपछि उनलाई मन्त्रालय तानिएको स्वास्थ्यमन्त्रीका सल्लाहकार डा रमेश ढकालले बताए।
‘उहाँलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको थियो। तर उहाँ त्यहाँ जान नमानेपछि मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालय तान्ने निर्णय भएको हो’उनले भने।
ढकाललाई पुस २५ गते प्रयोगशालामा सरुवा गर्ने निर्णय भएको थियो। तर उनले आफ्नो सरुवा कानुन अनुसार नभएको भन्दै विभागमा नै हाजिर गर्दै आएका थिए। ढकाललाई सरुवा गरेर मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याएको छ।
ढकालले हालसम्म आफूले पत्र पाइनसकेको बताए। उनले भने, ‘मलाई मन्त्रालय तानिएको कुरा सुनेको मात्र छु। तर अहिलेसम्म मैले पत्र पाइसकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।