सप्तरी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ। कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। उनका अनुसार ट्रक चालक पनि सम्पर्कमा आएका छैनन्। अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उनले बताए। ट्रक भने पूर्णरूपमा जलेको छ।
यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। यसअघि एक महिना अगाडि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।