फाइल तस्बिर
दमक– झापामा सवारी दुर्घटनामा परी तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्यांकबाट सो कुरा पुष्टि भएको हो।
चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए। जिल्लामा चालु आवको पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए। सो संख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी रहेको प्रहरीको तथ्यांक छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या अत्यधिक रहेको चापागाईंको भनाइ छ। ‘जिल्लामा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ,’ उनले भने, ‘मोटरसाइकल दुर्घटना बढी छ।’ सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उनले बताए। जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईंको भनाइ छ।
ट्राफिक कार्यालयले चालु आवको ६ महिनाको अवधिमा सवारी नियम उल्लंघन गर्ने २३ हजार २ सय सवारी साधनका चालकलाई कारबाही गरेको छ। कारबाहीवापत उनीहरुबाट १ करोड ५६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।