काठमाडौं–सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नियमावली, २०७२ का केही बुँदाहरु संशोधनको प्रस्ताव गरेको छ। सशस्त्रका डीआईजी नारायणदत्त पौडेलको संयोजकत्वमा बनेको समितिले दिएको सुझाव अनुसार नियमावलीका केही बुँदाहरु संशोधनको प्रस्ताव सशस्त्र हेडक्वाटरले गरेको हो।
सशस्त्र हेडक्वाटरले उक्त समितिले दिएको सुझाव अनुसारको केही बुँदाहरु संशोधन गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
पेस गरिएको प्रस्ताव अनुसार दफा ३८ को (२) मा उल्लेख भएको बढुवाको सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था हटाउनु पर्ने, दफा ४० अनुसार एसएसपीसम्म बढुवा हुनका लागि एक तह मुनिको पदमा चार वर्ष सेवा गरेको हुनुपर्ने ठाउँमा तीन वर्ष सेवा गरको हुनुपर्ने माग राख्दै प्रस्ताव पेश गरिएको छ।
दफा ६५ को अनिवार्य अवकाश नियम (५) पछि नियम (६) थप गर्नुपर्ने उल्लेख गरिएको छ। (६) मा सशस्त्र प्रहरी सेवामा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारीले उपनियम (१) को खण्ड (क) बमोजिम सेवा अवधि नहँदै उपनियम (१) को खण्ड (ग) बमोजिमको कारणबाट अनिवार्य अवकाश प्राप्त गरेमा सोही उपनियमको खण्ड (ग) बमोजिम अवकास हन बाँकी उमेर अवधि समेत निजले गरेको नोकरी अवधिमा थप गरी निजले पाउने निवृत्तिभरणको हिसाब गरिनेछ बनाउनुपर्ने प्रस्ताव गरिएको छ।
दफा ७० का केही बुँदा थप गर्नुपर्ने उल्लेख गरिएको छ। जसअनुसार २०६० चैत २६ गते र सो भन्दापछि सशस्त्र प्रहरी सेवामा भर्ना हुने देहायका कर्मचारीहरुले देहाय बमोजिम अवधि वा सेवा भन्दा बढी अवधिसम्म सशस्त्र प्रहरी सेवामा काम गरी नोकरबिाट अवकाश भएमा निवृतिभरण पाउनेछन् : जसअनुसार इन्सपेक्टरदेखि डीआईजीसम्म बीस वर्ष, असईदेखि बरिष्ठ सईसम्म १८ वर्ष र जवानदेखि हवल्दारसम्म १६ वर्ष, परिचरको पनि १६ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ।
बीस वर्षभन्दा अगाडि स्वच्छिक अवकाश लिएमा बीस वर्ष अवधि पुगेको मितिबाट मात्रै निवृतिभरण पावतको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै प्रसूति बिदा पनि ९८ दिन पाउनुपर्ने प्रस्ताव गरिएको छ। त्यस्तै दफा १६०, १६१ पनि संशोधनको प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।