काठमाडौं– फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको यस वर्षको संस्करण ‘निफ २०२२’ चैत १० देखि काठमाडौंमा हुने भएको छ। निफको पाचौं संस्करण चैत १० गतेदेखि चैत १४ गतेसम्म काठमाडौंमा हुन लागेको हो।
पाँच दिन हुने फिल्म महोत्सवमा विभिन्न ४० देखिका ८९ फिल्म प्रदर्शन हुनेछन्।
आयोजककाअनुसार महोत्सवका लागि ५५ देशबाट ४०० भन्दा धेरै फिल्महरु प्रदर्शनका लागि आएका थिए। महोत्सवको फिल्म छनोट समितिले भने तीमध्येबाट ८९ फिल्मलाई महोत्सवमा प्रदर्शनका लागि छनोट गरेको छ। यसमा फिचर फिल्म, लघु चलचित्र, एनिमेटेड फिल्मलगायत विधाका फिल्महरु रहेका छन्।
महोसत्वमा अन्तराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर पुरस्कार राशिको गौतमबुद्ध अवार्ड र राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्मको प्रतिस्पर्धाबाट एउटालाई अन्तराष्ट्रिय फिल्म समाजले प्रदान गर्ने ‘आइएफएफएस डन किहोटे अवार्ड’ प्रदान गरिनेछ। सँगै यसवर्षबाट पचास हजार नगद पुरस्कारसहितको उत्कृष्ट डकुमेन्ट्री अवार्ड पनि प्रदान हुनेछ।
यी बाहेक महोत्सवमा सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बागमती अवार्डलगायतका अवार्डहरु प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।