मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाकोे विकट गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीय हर्षित भएका छन्। नगरपालिको लिउडीगाउँमा पहिलोपटक गाडी पुगेको हो।
कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्। नगरपालिकाको ६७ लाख रुपैयाँ लगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ।
कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पुर्याउने नगरप्रमुख शाहीले बताए। नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।