काठमाडौं- नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। शनिबार काठमाडौं तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका–७ घर भई काठमाडौं गैरीधारा बस्ने २३ बर्षीय प्रेमबहादुर बोहरा, कैलाली घोडाघोडी नगरपालिका–२ घर भई हाल काठमाडौं सुकेधारा बस्ने २५ वर्षीय नमेश बुढा र गोरखा सिराञ्चोक गाउँपालिका–१ घर भई हाल सुकेधारास्थित बस्ने १८ वर्षीय राजन घले रहेका छन्।
यस्तै, कैलाली टिकापुट नगरपालिका– १ घर भई हाल जिल्ला काठमाडौं बानेश्वर बस्ने २४ वर्षीय गोबिन्द साउँद र काभ्रे बनेपा नगरपालिका– १२ घर भई हाल काठमाडौं महानगरपालिका– १६ नयाँ बजार बस्ने ३० वर्षीय प्रविन कार्की रहेका छन्।
महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई तार्केश्वर नगरपालिका– ६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश नं. ३ -०१-०२३ च.४३०१ नं.को हात्ती गाडी र तारसहित पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रदेश नं. ३ -०१-०२३ च.४३०१ नं.को दुरसञ्चार इन्टरनेट सेवा लेखिएको प्लेट राखिएको हात्ती गाडी, तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र तार बराबद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरु माथि महानगरीय प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।