फाइल तस्बिर
काभ्रेपलाञ्चोक– इन्द्रावती र सुनकोशी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन्।
एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुंगामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) लुगा छाडेर बेपत्ता भएका हुन्। किनारमा कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका दुई जोर जुत्ता, कालो लेडिज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भेटिएको हो। शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए।
छाडिएका सामग्री उनीहरुका आफन्तले पहिचान गरेको प्रहरीले जनाएको छ। परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाल सोमबारदेखि घरबाट बेपत्ता थिए। फुयालको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छन्।
बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सर्वसाधारणलाई समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।